Logo

बागमती पेज

१ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं-४ मा सचिनको संकल्प: ‘नयाँ पुस्ताको भरोसा, समृद्धिको मार्गचित्र’


काठमाडौं । काठमाडौं क्षेत्र नं. ४, जहाँको राजनीतिक राप र तापले सधैं राष्ट्रिय राजनीतिलाई तरंगित बनाउँछ। यसपटकको निर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसले एक युवा, प्राज्ञिक र बहुआयामिक व्यक्तित्व सचिन तिमल्सेनालाई मैदानमा उतारेको छ। युथ कांग्रेस नेपालका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टेटरका रूपमा परिचय बनाएका तिमल्सेना यसपटक ‘बदलिएको कांग्रेसमार्फत देश बदल्ने’ एजेन्डासहित चुनावी मैदानमा होमिएका छन्।

पार्टीका प्रभावशाली नेता गगन थापाले यसअघि प्रतिनिधित्व गरेको यो क्षेत्रलाई तिमल्सेनाले आफ्नो ‘गौरवशाली राजनीतिक विरासत’ मानेका छन्। आफ्नो प्रतिबद्धता पत्रमार्फत उनले केवल उम्मेदवारी मात्र दिएका छैनन्, बरु नयाँ पुस्ताको भरोसा र उत्तरदायी राजनीतिको मार्गचित्र समेत कोरेका छन्।

हावर्ड केनेडी स्कुलबाट ‘लिडरसिप’ को कोर्स र त्रिभुवन विश्वविद्यालयबाट द्वन्द्व, शान्ति र विकासमा स्नातकोत्तर गरेका तिमल्सेनाको राजनीतिक यात्रा सडकको आन्दोलनदेखि बौद्धिक बहसम्म फैलिएको छ। उनले आफ्नो घोषणापत्रमा भनेका छन्, “मैले युवालाई नाराबाट नीति तर्फ डोर्‍याउने प्रयास गरेको छु।” ‘नेपाली कांग्रेस पोलिसी ह्याकाथन-२०८०’ मार्फत गिग इकोनोमी र जलवायु परिवर्तन जस्ता समकालीन मुद्दालाई संसदको दैलोसम्म पुर्‍याउन उनले खेलेको भूमिकालाई उनले आफ्नो कार्यकालको उपलब्धिको रूपमा प्रस्तुत गरेका छन्।

तिमल्सेनाको आर्थिक दृष्टिकोण स्पष्ट छ, राज्यले उद्योग-व्यवसायलाई नियन्त्रण होइन, सहजीकरण गर्नुपर्छ। “उदार र सहयोगी सरकार” को अवधारणा अघि सार्दै उनले साना उद्यमीलाई बजार प्रवेशमा सहज वातावरण बनाउने र वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गर्ने वाचा गरेका छन्।

उम्मेदवार तिमल्सेनाको प्रतिबद्धता पत्रमा भनिएको छ, “देशको प्रारम्भिक विन्दु नै राजस्व र करको भार थोपर्ने नीतिले उद्योग-व्यवसाय फस्टाउन दिँदैन। साना उद्यमीदेखि ठूला लगानीकर्तासम्मलाई राज्यले ‘उदार’ व्यवहार गर्नुपर्छ।”

आफूलाई यस क्षेत्रको साझा प्रतिनिधिको रूपमा उभ्याउँदै तिमल्सेनाले काठमाडौं-४ को पूर्वाधार विकास, अव्यवस्थित शहरीकरणको व्यवस्थापन र सार्वजनिक स्थलको संरक्षणलाई प्राथमिकता दिएका छन्। उनले आफूलाई ‘भरत’ को संज्ञा दिँदै राम (गगन थापा) राष्ट्रिय मिसनमा निस्किएको बेला आफूले यो क्षेत्रको अभिभावकत्व पूर्ण निष्ठाका साथ निभाउने बताएका छन्।

“मेरो उम्मेदवारी केवल पदका लागि होइन, बरु आत्मसम्मान, पारदर्शिता र इमानदारीमा आधारित नवीन राजनीतिक पद्धतिको स्थापनाका लागि हो। म इतिहासलाई गाली गरेर ‘नयाँ’ देखिने भीडमा कहिल्यै हुने छैन। उम्मेदवार तिमल्सेनाले थपे अघिल्लो पुस्ताले बसालेको लोकतन्त्रको जगमा टेकेर आर्थिक विकास र सुशासनमार्फत देशलाई समुन्नत बनाउनु नै मेरो वास्तविक राजनीति हो।”

“हाम्रा युवाहरू आज केवल विदेशिने सपना देखिरहेका छन्। म चाहन्छु, युवाहरू नाराबाट नीति निर्माणमा आउन्। मेरो प्राथमिकता रोजगारी मात्र होइन, सीप विकास र उद्यमशीलताको वातावरण निर्माण गर्नु हो। काठमाडौं-४ लाई सुरक्षित र अवसरयुक्त क्षेत्र बनाउँदै यहाँको स्थानीय आवाजलाई राष्ट्रिय नीतिसँग जोड्ने पुल बन्न म तयार छु।”

सचिन तिमल्सेनाको प्रतिबद्धता पत्रले एउटा स्पष्ट सन्देश दिएको छ, उनी ‘गफ’ भन्दा ‘एजेन्डा’ र ‘हुल्लड’ भन्दा ‘विवेक’ को राजनीतिमा विश्वास गर्छन्। क्रिकेटको मैदानमा बल र ब्याटको तालमेल मिलाए जस्तै अब उनी राजनीतिमा जनअपेक्षा र नीतिको तालमेल मिलाउन ‘ब्याटिङ’ गर्न तयार देखिएका छन्।