Logo

भवानी कार्की

२ फाल्गुन २०८२, शनिबार

किल्ला तोडिँदै, एमाले जोडिँदै: अस्मिता थापाको पक्षमा बढ्दो जनलहर


काठमाडौं । ओखलढुङ्गाको चुनावी राजनीतिक समीकरणमा एउटा नयाँ र शक्तिशाली मोड आएको छ। आसन्न प्रतिनिधि सभा निर्वाचनको संघारमा जनता समाजवादी पार्टी (जसपा) र नेकपाका प्रभावशाली स्थानीय नेताहरू दलबलसहित नेकपा (एमाले) मा प्रवेश गरेपछि जिल्लाको राजनीतिक माहोल एमाले उम्मेदवार अस्मिता थापाको पक्षमा ढल्किएको देखिन्छ।

चुनावी अंकगणितमा निर्णायक मानिने खिजिदेम्बा क्षेत्र, जहाँ अघिल्लो स्थानीय तह निर्वाचनमा जसपाले विजय हासिल गरेको थियो, त्यहीँका प्रभावशाली नेताहरूले पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। ०७९ को निर्वाचनमा वडाध्यक्षका प्रत्यासी रहेका र राम्रो जनमत भएका जसपा जिल्ला सदस्य वोङ्छे शेर्पा र नेकपाका पुराना तथा अनुभवी नेता डिबी परियार एमालेमा समाहित हुनुले विपक्षी गठबन्धनलाई ठूलो धक्का पुगेको छ।

एमालेले युवा र ऊर्जाशील महिला नेतृ अस्मिता थापालाई मैदानमा उतारेपछि जिल्लामा ‘परिवर्तनको पक्षमा’ जनलहर सिर्जना भएको नवप्रवेशी नेताहरूको ठम्याइ छ। एमालेमा प्रवेश गर्दै नेता शेर्पाले भने, “समयको माग र आवश्यकतालाई बुझेर एमालेले अस्मिता थापाजस्तो सक्षम र युवा उम्मेदवारलाई अघि सारेको छ। ओखलढुङ्गाको विकासका लागि अहिले उनी नै निर्विकल्प प्रतिनिधि हुन्, त्यसैले हामीले एमाले रोजेका हौँ।”

चुनावी घरदैलो अभियानका क्रममा भुसिङ्गा पुगेका एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार र उम्मेदवार अस्मिता थापाले नवप्रवेशी नेताहरूलाई भव्य स्वागत गरे। नेता सुनुवारका अनुसार नयाँ आउने साथीहरूलाई पार्टीले उचित जिम्मेवारी दिँदै निर्वाचन परिचालनको मोर्चामा खटाएको छ। जसपाको प्रभाव क्षेत्र भनिएकै स्थानबाट नेताहरूले साथ छोड्नुले अस्मिता थापाको जित सुनिश्चित हुँदै गएको एमाले कार्यकर्ताहरूको दाबी छ।

यो धु्रवीकरणले ओखलढुङ्गामा एमालेको संगठन मात्र बलियो बनाएको छैन, युवा नेतृत्वप्रतिको जनताको विश्वासलाई पनि थप प्रगाढ तुल्याएको छ।