काठमाडौं । निर्वाचनको मिति नजिकिँदै गर्दा देशका विभिन्न भागमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हावा’ चलेको दाबी गरिए पनि काठमाडौं क्षेत्र नम्बर ४ मा भने परिस्थिति निकै प्रतिकूल देखिएको छ।
रास्वपाका उम्मेदवार पुकार बम यतिबेला निकै कठिन मोडमा उभिएका छन्। एकातिर एमालेका प्रभावशाली नेता डा. राजन भट्टराई र नेपाली कांग्रेसका सचिन तिमल्सेना बीचको भिडन्त छ, अर्कोतिर रास्वपाभित्रैको आन्तरिक कलहले बमको चुनावी माहोलमा धक्का लागेको छ।
पछिल्लो समय स्थलगत रिपोर्टिङका क्रममा उम्मेदवार पुकार बमलाई यस क्षेत्रको भूगोल र मतदाताको मनोविज्ञान बुझ्न निकै कठिन भइरहेको देखिएको छ।
स्थानीय बासिन्दाका अनुसार बमले यस क्षेत्रका गल्ली र गाउँका समस्याहरूलाई नजिकबाट चिनेका छैनन्। मतदाताहरूले आफ्नो भूगोल नै नचिन्नेलाई कसरी मत दिने? भन्दै प्रश्न गर्न थालेका छन्।
अघिल्लो निर्वाचनमा यस क्षेत्रमा रास्वपाको तर्फबाट कुनै पनि आधिकारिक उम्मेदवार नभएका कारण यसपालि संगठन विस्तारमा समेत ठूलो खाडल देखिएको छ।
काठमाडौं ४ मा रास्वपाको संगठन मजबुत हुनुको साटो झन् कमजोर बन्दै गएको छ। पार्टीका केही प्रभावशाली र पुराना नेताहरूले नै चुनावी मुखमा साथ छोडिदिएपछि यसलाई रास्वपाका लागि ठूलो धोकाको रूपमा हेरिएको छ।
पार्टीभित्रको गुटबन्दी र केन्द्रीय नेतृत्वको अस्पष्ट नीतिका कारण स्थानीय कार्यकर्ताहरू निराश छन्। पुकार बमलाई एक्लाएर ठूला नेताहरूले पार्टी परित्याग गर्नु वा निष्क्रिय बस्नुले रास्वपाको चुनावी डुङ्गा डुब्ने संकेत गरेको राजनीतिक विश्लेषकहरूको ठहर छ।
यस क्षेत्रमा डा. राजन भट्टराई र कांग्रेसको बलियो पकड छ। यी दुई शक्तिबीचको कडा प्रतिस्पर्धामा पुकार बम कतै हराइरहेका देखिन्छन्। मतदाताहरू विकास र स्थिरताका लागि पुरानै स्थापित नेताहरूको पछि लागेका कारण ‘नयाँ’ भनिएको रास्वपाका लागि काठमाडौं ४ फलामको चिउरा चपाउनु सरह भएको छ।
गत निर्वाचनमा उम्मेदवार नै नभएको क्षेत्रमा यसपालि माहोल बनाउन सजिलो थिएन, त्यसमाथि पार्टीभित्रैबाट भएको अन्तर्घातले पुकार बमको चुनावी यात्रालाई लगभग पूर्णविराम लगाइदिने खतरा बढेको एक स्थानीय कार्यकर्ताले गुनासो गरे।
देशव्यापी रूपमा रास्वपाको चर्चा भए पनि काठमाडौं ४ मा भने पुकार बमको माहोल बिजोग अवस्थामा पुगेको छ। के उनले अन्तिम समयमा यो परिस्थितिलाई उल्ट्याउन सक्लान्? वा ठूला दलकै छायामा ओझेल पर्लान्? त्यो भने मतपरिणामले नै बताउनेछ।












प्रतिक्रिया दिनुहोस्