Logo

मेघनाथ पहाडी

१३ फाल्गुन २०८२, बुधबार

सिन्धुली-१ को समृद्धिका लागि प्रदीप कटुवालको ८ बुँदे मार्गचित्र: नारा होइन, परिणाममा जोड


Pradip katuwal sindhuli-1 bagmatipage.com Meghnathpahadi

सिन्धुली। सिन्धुली क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका प्रदीप कुमार कटुवाल यतिबेला आफ्नो स्पष्ट कार्ययोजना र प्रतिबद्धतासहित जनताको घरदैलोमा छन्।

२०३६ सालदेखि निरन्तर राजनीतिक र सामाजिक रूपान्तरणको आन्दोलनमा सक्रिय रहेका कटुवालले यसपटक सिन्धुलीको समग्र विकासका लागि ८ बुँदे मुख्य एजेन्डा अघि सारेका छन्।

विगतमा बागमती प्रदेशको स्वास्थ्य मन्त्री र प्रदेश सभा सदस्यका रूपमा सफल अनुभव सँगालेका उनले “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय संकल्पलाई पूरा गर्न सिन्धुलीको धरातलमा आधारित योजनाहरू ल्याएका हुन्।

भौतिक पूर्वाधारलाई समृद्धिको पहिलो आधार मानेका कटुवालले “हरेक वडा कालोपत्रे सडक सञ्जालमा” भन्ने अभियान सञ्चालन गर्ने लक्ष्य राखेका छन्।

उनले प्रमुख रणनीतिक सडकहरूको स्तरोन्नति, निर्माणाधीन सुनकोशी-मरिण डाइभर्सन आयोजनालाई समयमै सम्पन्न गर्न पहल गर्ने र खुर्कोट-चियाबारी सुरुङ मार्ग निर्माणका लागि समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यस्तै, पर्यटन प्रवर्द्धनका लागि फिक्कलडाँडा, गोलञ्जोरडाँडा, मधुगंगा महादेव र सिन्धुलीगढी जस्ता धार्मिक तथा प्राकृतिक स्थलहरूलाई पर्यटकीय हबका रूपमा विकास गर्ने तथा सुनकोशी नदीमा जलविहार (राफ्टिङ) को सम्भावनालाई व्यावसायिक रूप दिने योजना उनले अघि सारेका छन्।

कृषि र रोजगारीलाई जोड्दै उनले “एक गाउँ, एक उत्पादन” मार्फत क्षेत्रलाई आत्मनिर्भर बनाउने संकल्प गरेका छन्। जुनार, सुन्तला, किबी र ड्रागन फ्रुट जस्ता उच्च मूल्यका बालीको व्यावसायिकरण, चक्लाबन्दी खेती र युवाहरूलाई उद्यमशीलता तालिममार्फत स्वरोजगार बनाउने योजना उनको बाचापत्रमा समेटिएका छन्।

स्वास्थ्य क्षेत्रतर्फ सबै पालिकामा १५ शैयाको अस्पताल निर्माण र दुधौली नगर अस्पताललाई ५० शैयाको प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने लक्ष्य उनले राखेका छन्।

शिक्षामा आमूल परिवर्तनका लागि उनले प्रविधिमैत्री शिक्षा, ‘एक विद्यालय-एक नर्स’ कार्यक्रम र स्नातक तहका विद्यार्थीलाई ग्रामीण विकासमा परिचालन गर्ने योजना ल्याएका छन्।

यसका साथै सुशासन, सामाजिक न्याय, भूमिहीन र सुकुम्वासी समस्याको समाधान तथा जंगली हात्ती आतंक नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने उनले बताएका छन्।

विकासलाई केवल नारामा मात्र सीमित नगरी परिणाममा उतार्ने दृढता देखाएका कटुवालले सिन्धुली-१ का मतदातासँग यसपटक पाँच वर्षका लागि काम गर्ने अवसर मागेका छन्।