Logo

भवानी कार्की

१४ फाल्गुन २०८२, बिहिबार

राप्रपा मध्यपुरथिमि कार्यसमिति एमालेमा समाहित: बस्नेत भन्छन्, विकास र समृद्धिको एकता हो


भक्तपुर । प्रतिनिधिसभाको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा भक्तपुरको राजनीतिमा महत्त्वपूर्ण फेरबदल आएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मध्यपुरथिमि नगर समितिको सिङ्गो नेतृत्व नै नेकपा (एमाले) मा प्रवेश गरेपछि यहाँको चुनावी समीकरण थप रोचक बनेको छ।

बुधबार मध्यपुरथिमिमा आयोजित एक विशेष कार्यक्रमका बीच राप्रपाका निवर्तमान नगर अध्यक्ष भुवन वागको नेतृत्वमा २५ सदस्यीय पूर्ण कार्यसमिति एमालेमा समाहित भएको हो। भुवन वाग निवर्तमान नगर अध्यक्ष, शलिम पुजारी नगर कोषाध्यक्ष, मानबहादुर राजवाहक नगर सचिव अन्य नगर कार्यसमितिका २२ जना सदस्यहरू समेत नेकपा एमाले प्रवेश गरेका हुन् ।

पार्टी परित्याग गरी एमाले प्रवेश गरेका नेता भुवन वागले भक्तपुरको मुहार फेर्न महेश बस्नेतको नेतृत्व अपरिहार्य रहेको बताए। हामी केवल दल बदल्न आएका होइनौँ, भक्तपुरको विकास र समृद्धिका नायक महेश बस्नेतलाई पुनः निर्वाचित गराई यहाँको अधुरो विकासलाई पूर्णता दिन आएको बताए।

नवप्रवेशीहरूलाई स्वागत गर्दै नेकपा एमालेका केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले युवाहरूको यो साथले आफूलाई थप ऊर्जा प्रदान गरेको उल्लेख गरे।

“मध्यपुरथिमिको ऐतिहासिक र सांस्कृतिक गरिमालाई जोगाउँदै यहाँ पर्यटन प्रवद्र्धन र युवा स्वरोजगारका ठूला आयोजना ल्याउनु हाम्रो लक्ष्य हो। राप्रपाको यो टिमको आगमनले विकासप्रेमी शक्तिलाई थप बलियो बनाएको छ,” नेता बस्नेतले भने।


कार्यक्रममा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा र उपाध्यक्ष किरण थापाले फागुन २१ गते हुने निर्वाचनमा एमालेको जित सुनिश्चित गर्न यो एकताले रणनीतिक महत्त्व राख्ने बताए।