Logo

भवानी कार्की

१५ फाल्गुन २०८२, शुक्रबार

नितिमाको पुनर्जागरण संकल्प: सर्लाही कृषिमा क्रान्ति र युवालाई रोजगारी


Nitima Karki bagmatipage.com

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सर्लाही क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार नितिमा भण्डारी कार्कीले आफ्नो चुनावी एजेन्डामार्फत सर्लाहीको पुनर्जागरणको संकल्प अघि सारेकी छिन् ।

उनले राजनीतिलाई केवल चुनावका बेला गरिने अस्पष्ट प्रतिबद्धताको खेल मात्र नभई जनतासँग गरिएको एउटा गम्भीर ‘करार’ (सम्झौता) को रूपमा व्याख्या गरेकी छिन् ।

नागरिकसँगको यो करार केवल वाचा मात्र नभई पूर्ण उत्तरदायित्व पनि भएको बताउँदै उनले आफ्ना प्रतिबद्धताहरू पूरा नभएमा जनताको प्रश्न र मूल्याङ्कन स्वीकार गर्ने नयाँ राजनीतिक संस्कारको विकास गर्ने दृढता व्यक्त गरेकी छिन् ।

विभिन्न कालखण्डका आन्दोलन र हालको ‘जेन जी’ पुस्ताको विद्रोहलाई सकारात्मक परिवर्तनमा रूपान्तरण गर्न आफू चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ ।  

कार्कीको मुख्य प्राथमिकतामा ‘उत्पादन, बजार र सम्मान’ रहेको छ, जसअन्तर्गत उनले सर्लाहीको उर्वर माटो र स्रोतसाधनलाई आर्थिक समृद्धिको आधार बनाउने खाका प्रस्तुत गरेकी छिन् ।

विशेष गरी बहुसंख्यक किसान भएको यस क्षेत्रमा कृषिलाई आर्थिक विकासको मेरुदण्ड घोषणा गर्दै किसानको उत्पादनको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्ने, बिचौलिया नियन्त्रण गर्ने र कृषि संकलन तथा बिक्री केन्द्र स्थापना गर्ने उनको योजना छ ।

आधुनिक कृषि प्रविधिको प्रयोग, सहज कृषि ऋण र बीमाको प्रभावकारी कार्यान्वयनमार्फत कृषकको पसिना अब घाटामा जान नदिने उनले प्रतिबद्धता जनाएकी छिन् ।

साथै, महिला कृषि समूहको सशक्तिकरण गर्दै उनीहरूलाई उत्पादनदेखि बजारसम्मको नेतृत्वमा ल्याउने र महिलाले सञ्चालन गर्ने उद्यमहरूलाई विशेष प्रोत्साहन दिने उनको एजेन्डामा उल्लेख छ ।  

पूर्वाधार र सामाजिक विकासका क्षेत्रमा उनले दक्ष विशेषज्ञसहितको महिला तथा मातृ स्वास्थ्य केन्द्र स्थापनालाई विशेष जोड दिएकी छिन्, जसले सुरक्षित प्रसूति सेवा सुनिश्चित गरी आमा र बच्चाको अकाल मृत्यु रोक्ने लक्ष्य राखेको छ ।

शिक्षातर्फ सरकारी विद्यालयहरूमा क्रमशः अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने, डिजिटल र सीपमूलक शिक्षा लागू गर्ने र अपाङ्गता भएका बालबालिकाका लागि विशेष विद्यालयको व्यवस्था गर्ने उनको योजना छ ।

यस्तै, ६० बिघामा फैलिएको नाडिमन ताललाई ग्रामीण पर्यटनको केन्द्र बनाउने, थारु सांस्कृतिक केन्द्र स्थापना गर्ने र ‘सर्लाही ब्रान्ड’ अन्तर्गत माछा उद्योगको विकास गरी भारतीय माछाको बजार नियन्त्रण गर्ने जस्ता महत्वाकांक्षी योजनाहरू उनले अघि सारेकी छिन् ।

“हामी सत्तामा गैरजिम्मेवार भएर बस्न होइन, व्यवस्था सुधार्न आएका हौँ” भन्दै उनले सर्लाही क्षेत्र नं. १ लाई आत्मनिर्भर बनाउन ‘घण्टी’ मा मतदान गर्न आह्वान गरेकी छिन् ।