Logo

भवानी कार्की

२२ फाल्गुन २०८२, शुक्रबार

ओखलढुंगामा अस्मिता थापाको उत्साहजनक अग्रता


Asmita-Thapa-Okhaldhunga bagmatipage.com meghnathpahadi

काठमाडौँ । देशभरको चुनावी नतिजाले नेकपा (एमाले) का लागि केही प्रतिकूल संकेत गरिरहँदा ओखलढुंगामा भने एमालेको ‘सूर्य’ अझै रापिलो देखिएको छ। प्रतिनिधि सभा निर्वाचन-२०८२ को ताजा मतपरिणाम अनुसार नेकपा (एमाले) की युवा तथा प्रभावशाली उम्मेदवार अस्मिता थापाले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै पछि पार्दै २०५१ मतका साथ शानदार अग्रता हासिल गरेकी छिन्।

जिल्लाको विकास र समृद्धिको स्पष्ट ‘रोडम्याप’ बोकेर चुनावी मैदानमा उत्रिएकी थापाको यो अग्रतालाई ओखलढुंगाली जनताले युवा नेतृत्व र एमालेको एजेन्डामाथि गरेको भरोसाका रूपमा लिइएको छ।

ताजा विवरण अनुसार अस्मिता थापालाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेलले १,२८९ मत प्राप्त गरेका छन्। नयाँ शक्तिको रूपमा उदाएको रास्वपाले ओखलढुंगामा सम्मानजनक मत पाए पनि एमालेको बलियो संगठन र अस्मिताको व्यक्तिगत प्रभावका अगाडि पोखरेल पछि परेका देखिन्छन्।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेल भने ओखलढुंगामा कमजोर अवस्थामा देखिएका छन्। उनले हालसम्म ९८६ मत मात्र प्राप्त गरेका छन्, जुन कांग्रेसको परम्परागत विरासतका लागि चुनौतीपूर्ण संकेत हो। यस्तै, नेपाल कम्युनिष्ट पार्टीका अम्बिरबाबु गुरुङले ७५६ मतका साथ पछ्याइरहेका छन्।

यो निर्वाचनको सबैभन्दा रोचक पक्ष के छ भने, देशका अन्य धेरै निर्वाचन क्षेत्रहरूमा नेकपा (एमाले) ले कडा प्रतिस्पर्धा र कतिपय ठाउँमा पराजय भोगिरहेको छ। तर, ओखलढुंगामा भने परिदृश्य ठ्याक्कै उल्टो छ। देशभरको राजनीतिक लहरलाई चिर्दै अस्मिता थापाले हासिल गरेको यो अग्रताले जिल्लामा एमालेको जग कति बलियो छ भन्ने पुष्टि गर्दछ।

राजनीतिक विश्लेषकहरूका अनुसार अस्मिता थापाको शालीन व्यक्तित्व, उनले अघि सारेका ६ वटा विकासका संकल्पहरू पूर्वाधार, आधुनिक कृषि, डिजिटल ओखलढुंगा, उद्यमशीलता, युवा परिचालन र गुणस्तरीय शिक्षा र जनतासँगको निरन्तर सामीप्यता नै यो अग्रताको मुख्य कारण हो।

अस्मिता थापाले अघि सारेको ‘लाइफलाइन’ सडकहरूको निर्माण र कृषिमा व्यवसायिकरणको योजनाले ओखलढुंगाका आम मतदाताको मन जितेको देखिन्छ। विशेष गरी युवा पुस्तामाझ लोकप्रिय रहेकी थापाले वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई स्वदेशमै अवसर दिने र ‘डिजिटल ओखलढुंगा’ बनाउने कुराले चुनावी माहोल एमालेतर्फ मोडिएको हो।

मतगणनाको प्रारम्भिक चरणमै देखिएको यो करिब ८०० मतको अन्तरले अस्मिता थापाको विजय यात्रा सुनिश्चिततातर्फ उन्मुख भएको एमाले कार्यकर्ताहरूको दाबी छ। यदि यही ट्रेन्ड कायम रहेमा, ओखलढुंगाले यसपटक संसदमा एक प्रखर, अध्ययनशील र विकासप्रेमी युवा महिला नेतृ पाउने निश्चित छ।