काठमाडौं । बागलुङ क्षेत्र नम्बर १ को चुनावी मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिल खड्काले रफ्तारमा अग्रता लिँदै जितको ढोका ढकढक्याएका छन्।
मतगणनाको सुरुवातदेखि नै विपक्षीलाई कडा टक्कर दिएका खड्काले अहिले मतान्तरलाई यति फराकिलो बनाएका छन्। अबको नतिजा केवल औपचारिकतामा सीमित हुने देखिएको छ।
हालसम्म ३९ हजार ३४३ मत गणना भइसक्दा खड्काले १६ हजार ६६६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीम श्रीस ९ हजार ६७ मतमा खुम्चिएका छन्।
खड्काले श्रीसलाई ७ हजार ५९९ को विशाल मतान्तरले पछाडि पारेका छन्, जुन अन्तरलाई अब गणना गर्न बाँकी मतले भेट्टाउन असम्भव प्रायः देखिएको छ।
चुनावी अंकगणितमा एमालेका हिरा बहादुर केसी ७ हजार ७४९ मतका साथ तेस्रो स्थानमा संघर्ष गरिरहेका छन्।
त्यस्तै, राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारीले ३ हजार ५३७ मत र राप्रपाका कल्याण विक्रम आचार्यले जम्मा ३६१ मत प्राप्त गरेको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छ।
सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माका अनुसार अब करिब १० हजार मत मात्र गन्न बाँकी छ। खड्काको यो अजेय अग्रताले बागलुङमा दशकौँदेखि जरा गाडेर बसेका पुराना राजनीतिक दलहरूको विरासतलाई भत्काइदिएको छ।
घण्टीको यो बाढीले स्थापित भनिएका नेताहरूलाई पाखा लगाउँदै बागलुङमा परिवर्तनको कडा सन्देश दिएको छ।
यो चुनावी परिणामले बागलुङको मात्र नभई समग्र गण्डकी प्रदेशकै राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ।
आफ्ना गढ भनिएका क्षेत्रहरूमा समेत कांग्रेस र एमालेका उम्मेदवारहरू पछाडि परेपछि कार्यकर्ताहरूमा निराशा छाएको छ भने रास्वपाको खेमामा भने विजयको उत्सव सुरु भइसकेको छ।












प्रतिक्रिया दिनुहोस्