Logo

बागमती पेज

आश्विन ३, २०७७ शनिबार

मुख्यमन्त्री शेरधनलाई सिध्याउन बालिका बोक्नेहरु को हुन् ?


भनिन्छ ‘सत्य डक्दैन, असत्य टिक्दैन’ यो नेपाली भनाईलाई फेरि एक पटक देशको एउटा ठुलै घटनाले पुष्टि गरेको छ ।

विगत केही समययता प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईका विरुद्धमा श्रृङ्खलावद्ध आवाजहरु उठे । त्यो पनि चारित्र माथि प्रश्न उब्जाएर ! जब जब शेरधनको सफलता र प्रतिस्पर्धाका समय आए तब त्यस्ता आवाजहरु झन बुलन्द पारिए ।

त्यसको मुख्य पात्र थिईन् बालिका खड्का (घटनाका विषयमा उनैले खुलेआम बोलेको भएर हामीले पहिचान गोप्य राख्नु नपर्ला) । राईले आफुलाई पटक पटक यौन हिंसा गरेको भनेर उनले सार्वजनिक रुपमै बोल्न थालिन् । अझ केही युटुभमा अन्तरवार्ता दिँदै उनले आफु राईबाट हिंसामा परेको बताईन् । अन्यायमा परेको भन्दै न्याय माग्न समेत भ्याईन् ।

सामाजिक सञ्जालमा बालिका खड्काको नाम जोडेर शेरधन राई विरुद्ध चर्को आलोचना भयो । दुवै जना (तत्कालिन एमाले) हालको नेकपाका नेता भएकाले पार्टी संगठनको नाममा पनि आलोचना हुनथाल्यो ।

विपक्षीले त विरोध गर्ने नै भए, नेकपा भित्रैका एकाथरिले यो घटनालाई कहिल्यै सेलाउन दिएनन् । कतिले खुलेरै प्रश्न गरे कतिचाँही अर्कालाई प्रयोग गरेर खुच्चिङ मच्चाउन लागे । कतिले त राजिनामा समेत माग्न भ्याइसकेका थिए ।

सुरु सुरुमा घटनाका विषयमा आवाज उठ्दा नपत्याएकाहरुले पनि महिला आफैं खुलेआम मिडियामा आउने पार्टीका शिर्ष नेता र वकिल कहाँ धाउने गरेपछि हो कि क्या हो भने जस्तो गरे ! बालिकाका अन्तरवार्ताहरुमा तपाईले आरोप मात्रै लगाउनु भएको त होईन भन्ने पत्रकारको प्रश्नमा उनको उत्तर हुन्थ्यो,‘एउटी महिलाले नभएको कुरा गरेर कोही पुरुषलाई आरोप लगाउन सक्दैन… मलाई पटक पटक उहाँले… गर्नुभयो । न्याय पाइनँ… । यस्तै यस्तै… ।’ आफुलाई यौन हिंसा गरेको, पछि वास्ता नगरेको जस्ता भएभरका आरोप लगाएर बोल्न थालेपछि मिडियामा ठुला ठुला समाचार बने । फलानाको यौन काण्ड…. फलानाका बारेको फलानाको खुलासा… फलानिले गरिन् पर्दाफास्… अझ युटुभका हेडलाईन झन आँखै अगाडी भएका घटनाको चित्रण गरिएको भन्दा फरक थिएनन् । अहिले पनि गुगल र युटुभमा ति सामाग्रीहरु छताछुल्ल छन् ।

उता आरोप सहेर बसेका मुख्यमन्त्री राईले यो गलत हल्ला फैलाईएको भन्दै निरन्तर अस्विकार गर्दै आएका थिए । ‘चरित्र हत्या गर्न कसैको उक्साहटमा म विरुद्ध यो अभियान चलाईएको हो । उनलाई पात्रका रुपमा कसैले खडा गरेका हुनसक्छ । सत्य १ दिन पुष्टि हुन्छ ।’ राईले यो घटनाबारे संधै यहि प्रतिक्रिया दिन्थे ।

तर बालिकाको शेरधन विरुद्धको अभियान यत्तिकैमा रोकिएन । पछिल्लो समय उनि आफु अहिलेका प्रदेश १ का मुख्यमन्त्रीकी श्रीमती भएको दावी गर्दैै नाता कायम गरेर अंश दिलाई पाउँ भनि अदालत सम्म पुगिन् । काठमाडौं जिल्ला अदालतमा उनको मुद्दा विचाराधिन थियो । अदालतले कात्र्तिक १८ गतेलाई तारेख सम्म तोकिसकेको थियो ।

अहिले आएर घटनाले अर्कै मोड लिएको छ ।

एउटी महिलाले कुनै पुरुषलाई नभएको आरोप लगाउन सक्दैन भन्दै आरोपका तानावाना बुनेर कहिल्यै नथाक्ने बालिकाले अहिले आएर आफुले गरेका सबै कुरा गलत भएको बताईन् । अदालतमा दिएको मुद्दा फिर्ता लिइन् ।

मुद्दा फिर्ता लिन अदालतमा उनैले दिएको एउटा निवेदनको व्यहोराले उनका सबै आरोपहरु गलत भएको पुष्टि गर्छ । उनले अदालतमा दिएको निवेदनमा भनिएको छ,–‘सम्मानित जिल्ला अदालतमा दर्ता गरेको फिराद पत्रमा उल्लेखित व्यहोरा म आफु अरुको दुरुत्साहनमा परि विपक्ष शेरधन राईकी श्रीमती भनि दावी गरि अंश माग गरिएको हो । निज शेरधन राईसँग अंश माग गर्नका लागि श्रीमान श्रीमतीको नाता कायम भएको वा हुनसक्ने म सँग कुनै आधार प्रमाण नभएको र वास्तविकरुपमा हाम्रो त्यस्तो कुनै पनि सम्बन्ध नरहेको हुँदा यसरी नाता कायम हुन नसक्ने भएपनि म आफुले लिएको अंश दावि सावित गर्न प्रमाणित गर्न नसक्ने भएको हुँदा मिति २०७७/७/१८ को तारेख तोकि पाएता पनि उक्त तारेख आजका मितिमा खिची मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९६ बमोजिम यो मुद्दा फिर्ता लिएको कागज लेखि लेखाई श्री काठमाण्डौ जिल्ला अदालतमा चढाएँ ।’

यो घटनाका बारेमा नसुनेको सायदै कोही होला ! खास कुरा के हो ? भन्ने चौतर्फि चासो थियो । बालिकाको पक्षमा हुनेलाई महिलालाई न्याय दिलाएर देशको एउटा उच्च पदस्त व्यक्तिलाई चरित्रहिन मुद्दामा फसाउन (कानुनी कारबाही गराउन) उद्युमै रहर थियो । यति ठुलो आरोप लागेपछि मुख्यमन्त्री राई त स्वभाविक रुपमा मानसिक तनावमा गुज्रिएका थिए नै, उनले नेतृत्व गरेको प्रदेशका नागरिक र मतदातालाई शिर झुक्ने चिन्ता उत्तिकै थियो । समर्थकहरु झन बढी तनावमा थिए ।

अदालतमा प्रमाण पेश गर्न नसक्ने भएपछि अचानक मुद्दा फिर्ता लिन पर्यो ।

पुरुषहरु आरोप लाग्ने वित्तिकै कारबाहीको भागेदार भएको देखिरहेको यो समाज एउटी महिलाले निर्दोष पुरुषलाई कसरी फसाउन सक्छिन् भन्ने पनि हेर्न बाध्य बनेको छ ।

यसो भन्दैगर्दा वा लेख्दैगर्दा एउटी महिलाको सवालमा यसरी बोल्ने ? भन्ने प्रश्न उठ्न सक्छ ।

किन नबोल्ने ? देशको एउटा उच्च पदस्त व्यक्ति जो विगत देखि वर्तमान सम्म स्वच्छ छवि बनाएर अन्याय र अत्याचारको विरुद्धमा जुट्दै समुन्नत समाज निर्माणको अभियानमा लागेको छ, उसलाई यसरी फसाउन पाईन्छ ? अनि अहिले अरुको दुरुत्साहनमा परेर मुद्दा दिएको थिएँ फिर्ता लिन्छु भनेर हुन्छ ?

तर विडम्बना नेपालको कानुन पुरुषका लागि निकै कठोर छ । चरित्र हत्या मात्रै होईन सारा राजनीतिक र सामाजिक जिवन समाप्त पार्न प्रयोग हुने बालिका र उनकै शब्द सापटि लिएर भन्दा उनलाई यो सबै कर्तुत गर्न दुरुत्साहन गर्नेलाई कारबाही हुनु पर्दैन ?

भलै मुख्यमन्त्री राई उतिसारो कठोर नहोलान् कारबाहीको माग नगर्लान् तर यस्तै घटना बढ्दै जाने हो भने कति निर्दोष पुरुषहरु यस्ता काण्डमा फस्नुपर्ला ? मुख्यमन्त्रीले समाज देखि सामाजिक सञ्जाल सम्म खानुपरेका ति गालीहरु, यत्तिका समय लिनुपरेको तनावको कुनै हिसाब हुनुपर्दैन ? यस्ता अनेकन प्रश्नहरु छन् ।

यो घटना भोजपुरको एउटा गाउँमा जन्मिएर समाजशास्त्रमा उच्च शिक्षा हाँसिल गरेका २०४४ साल देखि अनवरत राजनीतिक यात्रामा सकृय राईको सफलता देखेर अतालिँदै उनका भोलिका बाटाहरु पनि अवरुद्ध पार्न खोज्नेहरुको षड्यन्त्र भन्दा अरु केही होईन रहेछ भन्ने छर्लङ्ग भएको छ ।

२०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राई २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि भोजपुरको २ नम्बर क्षेत्रबाट विजयी भएका थिए ।

२०४४ सालदेखि अनेरास्ववियूमार्फत क्रियाशिल भएर भोजपुर जिल्ला कमिटी अध्यक्ष र २ कार्यकाल अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य बनेका राई २०५०–२०५४ सम्म अनेरास्ववियूको पूर्वाञ्चल प्रमुख थिए । राई नेकपा एमाले भोजपुरको प्रमुख पदमा ४ कार्यकाल निर्विरोध निर्वाचित भएका थिए ।

अवसर मात्रै लिएनन् राजनितीक यात्रामा २०४४ देखि २०४६ चैत सम्म भूमिगत जीवन पनि बिताए । विसं २०४९ मा एमाले भोजपुरको जिल्ला कमिटी सदस्य, २०५१ सालमा दोस्रो जिल्ला अधिवेशनबाट सचिवालय सदस्य, २०५४ मा जिल्ला कमिटीको उपसचिव हुँदै २०५४ सालमा पार्टी विभाजन भएपछि सचिव हुँदै २०५४ सालदेखि २०७० सालसम्म गरी चार कार्यकाल एमालेको जिल्ला अध्यक्ष बने । त्यो पनि निर्विरोध ।

विसं २०७० वैशाख २७ गते एमाले वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत राई २०७१ सालमा एमाले केन्द्रीय सदस्यमा निर्वाचित हुँदै वैकल्पिक पोलिटब्यूरो सदस्य एवं प्रदेश नं १ को सहइञ्चार्ज थिए ।

दोस्रो संविधानसभाका सभासद राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे । दोस्रो संविधानसभा सदस्य भएकै बेला पहिलो पटक मन्त्री बने । विसं २०७१ मा तत्कालीन व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको सभापति भएका राई विसं २०७२ कात्तिक १९ गते सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता बनेका थिए ।

यसअघि २ पटक भोजपुर २ बाट सांसद निर्वाचित भइसकेका राई यसपटक प्रदेश सभा सदस्य निर्वाचित भएर अहिले १ नम्बर प्रदेश मुख्यमन्त्री छन् । पार्टीमा नेकपाका पोलिटव्युरो सदस्य हुन् । उनको विगतको राजनितीक यात्राका कथा व्यथा र भोलिका अनगिन्ती सम्भावनाका संकेतहरु छन् ।

निकै शालिन र भद्र नेताको पहिचान बनाएका नेता राई एउटा झुटो मुद्दामा फस्नबाट बचेका छन् ।

लामो समय न्याय मागेर घुमेकी बालिकाले अदालतमा दिएको त्यो मुद्दा फिर्ता मात्रै लिईनन् त्यहाँ व्यहोरामा अरुको दुरुत्साहनमा परेर प्रमाण नभएको विषय उठाएँ भन्न समेत भ्याएकी छन् । उसो भए स्वच्छ छविका शेरधनलाई सिध्याउन बालिका बोक्नेहरु को हुन् ? यो प्रश्न पनि उब्जिएको छ । यसको उत्तर शेरधनका विरोधी, विपक्षी वा प्रतिस्पर्धी भनेर मात्रै अरुले अनुमान लगाउन सकिएला तर सहि उत्तर भने उनै बालिकासँग छ ।

बालिकाको नाम र मुद्दा बोकेर मुख्यमन्त्रीका विरुद्ध लाग्नेहरुलाई बालिकाले नै आफु विना आधारको झुटा मुद्दा लिएर हिडेको बयान दिएपछि पक्कै निद हराम भएको हुनुपर्छ ।