Logo

बागमती पेज

आश्विन ३, २०७७ शनिबार

पर्यटन बोर्डद्वारा उत्कृष्ट ५ फोटो घोषित


काठमाडौं । नेपाल पर्यटन बोर्डले आयोजना गरेको झ्यालबाट देखिने सुन्दर फोटो प्रतियोगितामा पाँच उत्कृष्ट फोटो छनोटको घोषणा गरेको छ । बन्दाबन्दीमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ बोर्डले आयोजना गरेको झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामा सहभागी ७०० भन्दाबढी फोटोमध्ये उत्कृष्ट पाँच छनोट गरिएको हो ।

उत्कृष्ट पाँचमा छनोट भएका फोटोग्राफर प्रविन श्रेष्ठ, उमेश स्थापित, सुशील पौडेल, साम्दे शेर्पा र कमल कँडेल रहेको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ । प्रतियोगिताको मुख्य निर्णायकमा वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ रहेका थिए ।

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिर अनलाइनबाट पठाउन अनुरोध गरिएको थियो । बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागिता जनाइएको थियो । विजयीलाई जनही रु १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले विजयीलाई बधाई एवं सहभागीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि बोर्डको नेपाल प्रवद्र्धन गर्ने अभियानमा सहभागी हुन अनुरोध गरेका छन् ।