Logo

बागमती पेज

आश्विन ३, २०७७ शनिबार

सुनसान बनेको पर्यटकीय लेकसाइडलाई एक फन्को मार्दा


पोखरा मुलुककै पर्यटकीय गन्तव्यमध्ये एक प्रमुख आकर्षणको केन्द्र हो। त्यसैले त पोखराले सुन्दरी पर्यटकीय नगरीको उपमा पाएको छ। तालतलैया, मनोरम हिमशृङ्खला, हरिया डाँडाकाँडा, प्रशस्तै घुमघामका ठाउँहरू आदिले गर्दा पोखरा पर्यटकको पहिलो रोजाइको गन्तव्य बनेको हो।

बाह्य र आन्तरिक दुबै पर्यटकहरू बराबरी मात्रामा पोखरा घुमघामका लागि आउने गर्दछन्।

तर कोरोना भाइरसका कारण सुनसान बनेको पर्यटकीय नगरी पोखराको मुख्य पर्यटकीय हब लेकसाइड करिब ६ महिनादेखि नतमस्तक भएर सुतिरहेको छ। कोरोनाका कारण सबभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन हो।

त्यसैले त अरू क्षेत्रमा सामान्य चहलपहल सुरू भइसक्दासमेत यो क्षेत्र अहिले पनि सुनसान छ। पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड सरसर्ती चक्कर लगाउँदा मनमा अनेक तर्कवितर्क उत्पन्न हुनु स्वभाविकै हो।

सुनसान सडक, सधैं चहलपहल हुने होटलका गेटमा भोटे ताल्चा, सबै प्रकारका व्यवसाय ठप्प, ट्राभल, ट्रेकिङ, प्याराग्लाइडिङ, बन्जी जम्प, जीप फ्लायर, अल्ट्रालाइट प्लाइट, बोटिङ, र्याफ्टिङलगायत पर्यटक भुल्याउने सबै गतिविधिमा शून्यता छाएको छ। लेकसाइडको यो पछिल्लो दृश्य वास्तवमै मन वेचैन बनाउने खालको छ।

होटल र रेष्टुरेण्ट मात्र होइन लेकसाइड केन्द्रित सबै व्यवसाय ठप्प प्राय: छन्। सामान्यतया किराना र तरकारी पसलमा केही चहलपहल देखिए पनि त्यस बाहेकका सबै व्यवसाय सामान्य हुन सकेका छैनन्।