Logo

बागमती पेज

आश्विन १५, २०७७ बिहीबार

चाँगुनारायणमा १ हजार ३ सय छात्रालाई स्यानिटरी प्याड वितरण


भक्तपुर । चाँगुनारायण नगरपालिकाले किशोरीहरुलाई स्यानिटरी प्याड वितरण कार्यक्रम सुरु गरेको छ । बुधबार दुवाकोटस्थित चाँगुनारायण माविमा आयोजित एक कार्यक्रममा उपप्रमुख विना बास्तोलाले किशोरीहरुले महिनावारी भएपछि लगाउने प्याड वितरण गरेकी हुन् ।

विद्यालयका प्रार्चायमार्फत उक्त स्यानिटरी प्याड कक्षा ६ देखि १२ सम्म अध्ययनरत किशोरीहरुलाई निःशुल्क रुपमा वितरण हुने उपप्रमुख बास्तोलाले जानकारी दिएकी छिन् । नगरपालिका अन्तरगत रहेका सबै सामुदायिक विद्यालयमा उक्त कार्यक्रम लागू गरिएको छ, जुन संघीय सरकारले सुरु गरेको अभियान हो ।

कार्यक्रममा बोल्दैं उपप्रमुख बास्तोलाले भनिन्, ‘महिनावारी भएपछि छात्राहरु स्कुल आउन बन्द गर्ने भएकाले सरकारलेनै यस्तो कार्यक्रम लागू गरेको हो ।’

चाँगुनारायण नगरमा सामुदायिक विद्यालयलाई पनि अन्य सरह बनाउन मुख्य भूमिका प्रधानाध्यापक भएको उनको भनाई छ । सबै क्षेत्र मिलेर मात्र सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन सकिने उपप्रमुख बास्तोलाले बताइन् । छात्राहरुको शारीरिक र मानसिक स्वास्थ्यमा समेत यसले सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छौं’ बास्तोलाले भनिन् ।

कार्यक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले उपलब्ध भएको प्याड लक्षित छात्रासम्म पुर्याउने दायित्व विद्यालय प्रमुखको भएको बताए । उनले यसपछि छात्राको अनुपस्थिति हुने दरलाई न्यूनिकरण गर्न सहयोग पुग्ने आशा लिए ।

उक्त कार्यक्रममा चाँगुनारायण माविका प्रार्चाय दधिराम गेलाल, नगरपालिका शिक्षा शाखाकी मिरा तिमिल्सेना, विभिन्न विद्यालयक प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । नगरपालिका भित्रका ९ वटै वडामा रहेका २४ सामुदायिक विद्यालयमा अध्ययन गर्ने १ हजार ३ सय ४ जना छात्रालाई स्यानिटरी प्याड वितरण गरिएको हो ।