Logo

बागमती पेज

माघ ८, २०८० सोमबार

जान्नुहोस् दात किन बिग्रिन्छन्, कसरी गर्ने दातको हेरचाह ?


अमेरिकी संस्था सीडीसीका अनुसार ६५ वर्ष वा सोभन्दा बढी उमेरका पाँचमध्ये एक जनाले आफ्ना सबै दाँत गुमाउँछन् । पूर्ण रुपमा दाँत झर्ने समस्या ७४/७५ वर्षको उमेरमा वयस्कहरूको तुलनामा १३ प्रतिशतले बढी हुन्छ ।

हामी देख्न सक्छौं, मान्छे बुढो हुँदै गएपछि दाँत पनि खराब हुँदै गएको । दाँतमा खिया लाग्ने, फुत्किने-भाँचिने मात्र होइन गिजा पनि खिइएर दाँत कमजोर भएको देखिन्छ ।

यही कारण बुढापाकाहरु राम्ररी चपाउन सक्दैनन् । नरम खानेकुरा मात्र खान सक्छन् । बुढ्यौलीले छोप्दै गएपछि किन सबैको दाँत कमजोर हुन्छ रु बुढ्यौलीमा किन दाँत कमजोर हुन्छ ?

मुख सुक्खा हुनु

बढ्दो उमेरमा सबैभन्दा बढी देखिने समस्या हो, मुख सुक्खा हुनु । मुखमा आउने र्‍यालले मुखमा भएको खानेकुरा चपाउन मद्दत गर्नुका साथै मुखलाई सफा गर्छ । त्यति मात्र होइन, कुनै प्रकारले दाँतमा हुने क्षतिलाई रोक्न र गिजालाई स्वस्थ राख्न मद्दत पनि गर्छ ।

यद्यपि, उमेर बढेसँगै र्‍यालको उत्पादन कम हुन्छ । यसको कारण हो, उमेर बढेसँगै विभिन्न औषधिको प्रयोग, क्यान्सरको बिरामी, सीओपीडी, मुटुरोग र पक्षघात । यस्ता समस्याले मुख सुक्खा भएपछि दाँत र मुख सफा हुन पाउँदैन । यस्ता रोग र औषधिले मुखमा बढी मात्रामा कीटाणुहरु पनि उत्पादन गर्छ । जसले सास गन्हाउने, फोहोर हुने, गिजामा संक्रमण भई दाँत कमजोर पार्छ ।

गिजामा समस्या

बुढ्यौली लागेसँगै खाना खाइसकेपछि मुख कुल्ला गर्न, दाँत सफा गर्न जाँगर चल्दैन । यही कारण मुखमा कीटाणु बढ्दै जान्छ । यसले गर्दा गिजा सुन्निने र संक्रमण बढेर दाँतको जरा कमजोर हुन्छ ।

मुखभित्रको घाउ

मुखभित्र घाउ आउनु आम समस्या हो । यस्ता घाउ अक्सर आफैं निको हुन्छ । तर बुढ्यौलीमा मुखभित्र घाउ आएपछि सहजै निको हुँदैन । त्यही घाउले दाँतको जरा र गिजा बिगार्न सक्छ । धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्ने वृद्धहरुमा यो समस्या झन् धेरै छ ।

कमजोर रोगप्रतिरोधी क्षमता

उमेर बढ्दै गएपछि रोगसँग लड्ने क्षमता कमजोर हुँदै जान्छ । यसले गर्दा दाँत तथा गिजामा आउने सानोतिनो समस्या पनि बढ्दै जान्छ । अझ चुरोट, सुर्ती सेवन गर्नेहरुमा थप जटिलता हुन्छ । यसले गर्दा पनि बुढ्यौलीमा दाँत कमजोर हुन्छ ।

हड्डीको घनत्व घट्नु

उमेर बढेसँगै गिजामा हुने हड्डीको घनत्व घट्दै जान्छ । नसाहरु पनि सुक्दै जान्छन् । यसको सोझो असर दाँतमा पर्छ । दाँतलाई नसा र हड्डीले छोड्न थाल्छ । जसले दाँतको जरा देखिन थाल्छन् । जरा देखिने मात्र होइन, गिजाको भर नपाउदा दाँत पनि बिस्तारै सर्दै जान्छ । जसकारण उमेरमा मिलेको दाँत पनि पछि कोही अगाडि र केही पछाडि भएजस्तो देखिन्छ ।

के छ त उपचार ?

दाँतलाई बुढ्यौली उमेरसम्म सही राख्नका लागि जरुरी हुन्छ, यसको उचित हेरचाह । यो भनेको समयमा ब्रस गर्ने, सही तरिकाले ब्रस गर्ने, सुर्ती–चुरोट नखाने । त्यसबाहेक बेलाबखत दाँतको उपचार गराइराख्नुपर्छ । दाँत सफा गर्ने, कीराले खाएको भागमा सिमेन्ट भर्ने, भाँचिएको वा टुटेको दाँत छ भने उखेलेर अर्को दाँत राख्ने ।

दाँत सर्दै खाली पनि देखिएमा रिटेनर्स र क्लिनर अलाइनर्स अवस्था हेरी राख्न सकिन्छ । यसले सरेको दाँतलाई बाँध्ने र अन्यत्र सर्न दिंदैन ।

दाँत झरेको अवस्थामा उमेरसँगै झर्छ भनेर चुप लागेर बस्नु हुँदैन । त्यसको लागि कृत्रिम दाँत हाल्ने र दाँत प्रत्यारोपण गर्न सकिन्छ । यस्तो किसिमको उपचारले खाना चपाएर शरीरमा पोषण पुर्‍याउन, अनुहारलाई सुहाउँदो देखाउन र सहजरुपमा बोल्न सघाउ पुर्‍याउँछ । दाँत पूरा खिइसकेको छ भने आवश्यकताअनुसार शल्यक्रिया गरी बोन ग्राफ्टिङ (हड्डी प्रत्यारोपण)गर्नुपर्छ ।

(डा. सुवास घिमिरे/ओरल म्याक्जिलोफेसियल सर्जन)