Logo

बागमती पेज

आश्विन २४, २०७९ सोमबार

सिन्धुलीका ७० जनाले छोडे काँग्रेस, श्याम घिमिरेको चुनावी माहोलमा लाग्यो झड्का


काठमाडौँ । सिन्धुलीमा नेपाली काँग्रेसका ७० जना क्रियाशिल सदस्यले एकै साथ पार्टी छोडेको घोषणा गरेका छन् । फिक्कल गाउँपालिका वडा नं ३ का १० जना क्षेत्रीय प्रतिनिधि समेत ७० जना क्रियाशिल सदस्यले काँग्रेस छोडेको क्षेत्रीय प्रतिनिधि तथा फिक्कलका प्रभावशाली युवा नेता सितल पोखरेलले बागमती पेजलाई जनाएका छन् ।

युवा नेता पोखरेलले भने, “स्थानीय निर्वाचनका कारण हाल सम्म आफ्नो घरमा सुरक्षित बस्ने वातावरण छैन । यो अवस्थामा पार्टी नेतृत्वबाट गैर जिम्मेवार तथा लाचार प्रतिक्रिया आउँदा हामी निरास भएका छौँ । जिल्ला नेतृत्वलाई जानकारी गराउँदा समेत वास्ता गरिएको छैन ।”

जिल्ला पार्टी नेतृत्वलाई ज्ञापन पत्र बुझाउँदा समेत व्यवास्था गरिएका कारण पार्टी छाड्न बाध्य बनेको फिक्कलका नेता कार्यकर्ताले जनाएका छन् । स्थानीय निर्वाचन सम्मपन्न भएको ३ महिना बितिसक्दा पार्टीको सामान्य घटना मिलाउन नसक्नु र पार्टीका नेता कार्यकर्ता आफ्नो घरमा आज सम्म असुरक्षित बस्नुपर्दा उनीहरुले पार्टी प्रति दुःख व्यक्त गरेका छन् ।

क्षेत्रीय प्रतिनिधि गोपाल पहाडीले पार्टीको जिम्मेवार नेतृत्वमा रहेका अन्तरघाती नेता कार्यकर्ताको मूख्य कारण स्थानीय निर्वाचनमा हार व्यहोर्नुपरेको बताए । उनका अनुसार पार्टी उम्मेदवारलाई जिताउन विभिन्न जिम्मेवारीमा रही भूमिका खेल्ने पार्टीप्रति वफादार साथीहरु समेत हाल विपक्षको तारो बनेका छन् । यस्तो अवस्थामा समेत नेतृत्वले वास्ता नगर्दा पार्टीमा रहनुको कुनै औचित्य भएन । त्यसकारण यस्तो निर्णय लिन हामी बाध्य भएका हौँ ।

सत्तापक्षिय गठबन्धनबाट सिन्धुली क्षेत्र नं १ मा नेपाली काँग्रेसका श्याम घिमिरेले मनोनयन पत्र दर्ता गरेका छन् । त्यसैगरी उनका प्रतिस्पर्धी नेकपा एमालेबाट प्रदिप कटुवालले मनोनयन पत्र दर्ता गरेका छन् । नेकपा एमालेका उम्मेदवार प्रदिप कटुवालकै वडाका १० जना क्षेत्रीय प्रतिनिधि समेत ७० जना नेपाली काँग्रेसका क्रियाशिल सदस्यहरुले पार्टी छोडेका छन् ।

त्यसैगरी वडा कार्यसमिति सचिव विष्णु पहाडी लगायत २० जना नेपाली काँग्रेसका नेता कार्यकर्ताले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका छन् । निर्वाचन नजिकिँदै गर्दा यसरी पार्टी छोड्ने र पार्टी परित्याग गर्दा श्याम घिमिरेको चुनावी माहोलमा धक्का लागेको छ । नेपाली काँग्रेस सिन्धुलीको राजनीतिमा यसले ठुलो अर्थ राख्ने छ ।