Logo

बागमती पेज

आश्विन १६, २०७७ शुक्रबार

ओली-प्रचण्ड भेटवार्ता सम्पन्न: शनिबार सचिवालय बैठक बोलाउने निर्णय


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सम्पन्न भएको छ । दुई नेताबीच झण्डै पौने घण्टामात्र भेटवार्ता भएको थियो । भेटवार्तामा दुई अध्यक्षबीच शनिबार चार बजे बस्ने गरी सचिवालय बैठक बोलाउने सहमति भएको छ ।

सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्ने नेकपा उच्च श्रोतले जनाएको छ । आजको भेटमा अध्यक्ष प्रचण्डले पार्टीमा छलफल नै नगरी राजदूत नियुक्ति गर्न सिफरिस गरेपछि पार्टीमा असन्तुष्टि बढ्न पुगेको भन्दै ओलीको ध्यानाकर्षण गराएका थिए । जवाफमा ओलीले लामो समय राजदूत पद खाली राख्दा राम्रो सन्देश नजाने भएकाले सिफारिस गर्नुपरेको जवाफ दिएका थिए ।

‘अब मन्त्रिपरिषद पुनर्गठन, राजदूत नियुक्ति लगायत सबै विषय सचिवालयमा छलफल हुन्छ,’ एक सचिवालय सदस्यले भने, ‘छलफल र परामर्श नगरी गरिएका नियुक्तिबारे हामी चुप लागेर बस्दैनौँ ।’

मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी तीन देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेताहरुमा फेरि खटपट सुरु भएको छ ।