Logo

बागमती पेज

आश्विन २७, २०७७ मंगलबार

बागमती प्रदेश सरकारले दियो रंगशाला निर्माणका लागि ३ करोड


हेटौंडा । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि बागमती प्रदेश सरकारले तीन करोड रकम हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हेटौंडामा एक कार्यक्रमका बीच प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरणका क्रममा मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रशंसा गरे । रंगशाला निर्माण तीब्र गतिमा भएको भन्दै खुसी बनेका मुख्यमन्त्री पौडेलले रंगशाला निर्माण परीयोजना छिटो सक्न शुभकामना समेत दिए । आगामी दिनमा पनि सरकारले सहयोग जारी राख्ने प्रतिवद्धता मुख्यमन्त्री पौडेलले जनाएका थिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलाल बागमती प्रदेशमा राष्ट्रिय गौरवको परियोजना बन्नु गौरवको विषय भएको बताए । रंगशाला निर्माणका लागि यसअघि हेटौंडा उपमहानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गरेको थियो ।

यसैगरी केही साता अघि मात्रै भरतपुर महानगरपालिकाले ५० लाख सहयोग गरेको थियो ।भरतपुर महानगरपालिकाले दिने भनेर घोषणा गरेको गत वर्षको ६ करोड सहयोग रकम अझै दिन बाँकी छ ।