Logo

बागमती पेज

कार्तिक १५, २०७७ शनिबार

फूलको उत्पादनमा यो वर्षदेखि नेपाल आत्मनिर्भर


काठमाडौं । यो वर्षको तिहारमा करिब १० लाख मालाको माग घट्ने भएको छ । फ्लोरिकल्चर एशोसिएसन अफ नेपालले यो वर्ष सयपत्री फूलको माग १२ देखि १५ लाखको हाराहारीमा हुनसक्ने अनुमान गरेको हो ।

अघिल्लो वर्षको तिहारमा २५ लाख मालाको माग रहेको एशोसिएसनको तथ्यांक छ । त्यसमध्ये साढे २२ लाख मालाको उत्पादन आन्तरिक बजारबाट गरिएको थियो । साढे २ लाख माला भने भारतीय बजारबाट आयात गरिएको थियो । अघिल्लो वर्ष बजारमा भएको मागमध्ये करिब २० लाख माला सयपत्रीको थियो । करिब ५ लाख मखमलीको माला खपत हुँदै भएको थियो ।

एशोसिएसन अध्यक्ष कुमार कसजुले यो वर्षको तिहार अघिल्लो वर्षजस्तो रौनक नभएको भन्दै तिहारको पुष्प व्यापार ४० प्रतिशतसम्म कमी आउनसक्ने बताए । ‘यो वर्षको दशैं तिहारमा पहिलेजस्तो रौनक छैन । त्यसैले बजार ४० प्रतिशतसम्म घट्नसक्ने अनुमान गरेका छौं । अघिल्लो वर्ष सयपत्र र मखमली फुलको मालाको माग करिब २५ लाख थियो । यो वर्ष १२ देखि १५ लाखसम्म मात्रै डिमान्ड हुने सम्भावना छ,’ कसजुले भने । यो वर्ष मखमली र सयपत्री फूलको मालाको मागमा उत्तिकै घट्नसक्ने उनको भनाइ छ ।

आत्मनिर्भर बन्ने लक्ष्य
बजारको माग घटेको समय पारेर यो वर्षदेखि पुष्प व्यवसायीहरुले यो व्यवसायमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका छन् । एशोसिएसनका अध्यक्ष कसजुले अघिल्लो वर्ष हुँदै आएको १० प्रतिशतको आयातलाई यो वर्ष घटेको माग र बजारको आपूर्तिले धान्ने भएकोले यो वर्षदेखि फूल आयात गर्नुपर्ने अवस्था नरहेको बताए ।

नेपालमा विगतदेखि नै मखमली र गोदावरी फूलको माग आन्तरिक उत्पादनले धान्दै आएको थियो । सयपत्री फूलको भने भारतीय बजारबाट आयात गर्नुपर्ने अवस्था थियो । यो वर्ष आन्तरिक बजारबाटै माग धान्ने भएपछि आफूहरुले भारतीय बजारबाट फूल ल्याउन व्यवसायीहरुले अवरोध गर्न थालेका छन् । व्यवसायीको अवरोधपछि अहिले फूलको आयात हुन छाडेको अध्यक्ष कसजुको भनाई छ । यसले आत्मनिर्भर बन्ने अवस्थालाई थप सहयोग गरेको उनको भनाई छ ।

तिहार ढिलो हुँदा व्यवसायीलाई लाभ
अघिल्ला वर्षहरुमा भन्दा यो वर्षको तिहार करिब १५ दिन ढिलो भएको छ । तिहार ढिलो भएकै कारण व्यवसायीले यसबाट लाभ लिनसक्ने धएका छन् । सामान्य फूलहरु ओइलाइसक्ने भएकोले यो वर्ष व्यवसायिक रुपमा उत्पादित फूलले बजार पाउने आधार तयार भएको व्यवसायीहरुको भनाइ छ ।

यो वर्ष बजारको माग ४० प्रतिशत घट्ने प्रक्षेपण गरिए पनि सोही अनुपातमा आयात प्रतिस्थापन र गैरव्यवसायिक फूलको अभावका कारण व्यवसायीको बिक्रीमा धेरै ठूलो नपर्ने उनीहरुको अनुमान छ ।

मूल्यमा यो वर्ष पनि हस्तक्षेप
अघिल्लो वर्ष सयपत्री फूलको माला करिब ६० देखि ७० रुपैंयामा बिक्री भएको थियो । यो वर्ष पनि त्योभन्दा बढी मूल्य बढ्न नदिने प्रतिबद्धता फ्लोरिकल्चर एशोसिएसनको छ ।

‘सयपत्री फूलको मालाको मूल्यमा हामीले विगत ५/७ वर्षदेखि नै हस्तक्षेप गर्दै आएका हौं । यो वर्ष पनि हस्तक्षेप गर्छौं,’ अध्यक्ष कसजुले भने, ‘४० देखि ४५ रुपैंयामा फूलको उत्पादन र तयारी हुन्छ । त्यसमा बिक्रेताले २० प्रतिशत मार्जिन राखेर बेच्दा पनि ६० देखि ७० रुपैंयामा माला आउँछ, त्योभन्दा बढी मूल्य बढ्न दिँदैनौं ।’

कोरोनाभाइरसको महामारीसँगै सार्वजनिक समारोहहरु ठप्प हुँदा पुष्प व्यवसायमा ठूलो असर परेको थियो । तर, सबै क्षेत्रमा उत्तिकै असर परेकोले व्यवसायीहरु पलायन भने भएका छैनन् । तर, यो क्षेत्रमा करिब ३० प्रतिशत रोजगारी कटौती भइसकेको छ । अहिले यो क्षेत्रमा करिब साढे ७ अर्बको लगानी छ । आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ४२ करोड रुपैंयाको कारोबार भएको यो उद्योगमा अघिल्लो वर्षको कारोबार २ अर्ब २५ करोडमा सीमित भएको थियो । यो वर्ष पनि कुल मागमा सामान्य गिरावट आउने प्रक्षेपण गरिएको छ ।