Logo

बागमती पेज

कार्तिक २३, २०७७ आईतबार

भरतपुर महानगरपालिकालाई चीनद्वारा स्वास्थ्य सामग्री सहयोग


चितवन । भरतपुर महानगरपालिकालाई मित्रराष्ट्र चीनबाट कोभिड–१९ विरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले भरतपुर महानगरलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

मेडिकल प्रोटेक्टिभ मास्कलगायतका आवश्यक स्वास्थ्य सामग्रीहरु चीनको सिपिङ सिटी सर्भिसले उपलव्ध गराएको भरतपुर महानगरपालिकाले जनाएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकालाई कोभिड– १९ विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री चीनबाट प्राप्त भइरहेको जानकारी गराइन् । सहयोग सामग्री ग्रहण गर्दै भरतपुर महानगर प्रमुख दाहालले प्राप्त स्वास्थ्य सामग्री आवश्यकता अनुसार भरतपुर महानगरअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुलाई वितरण गरिने बताइन् ।

महानगर प्रमुख दाहालले कोभिड १९ विरुद्ध लड्न मित्रराष्ट्र चीनबाट निरन्तर सहयोग मिलेको बताउँदै भनिन्, ‘आवश्यक पर्ने स्वास्थ्य सामग्रीले भरतपुर महानगरलाई कोभिड विरुद्ध लड्न सहयोग गर्नेछ ।’ उनले यसअघि पनि चीनबाट विभिन्न स्वास्थ्य सामग्री आएको जानकारी गराउँदै भनिन्, ‘कोभिडको महामारीको बेला स्वास्थ्य सामग्री सहयोगले जनस्तरमै सुमधुर सम्बन्ध कायम हुने छ ।’

यसअघि चीनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई १७ लाख रुपैयाँ बराबरको सर्जीकल मास्क १० हजार थान, एन ९५ मास्क ९ सय ६० थान, पिपिई १ सय २० थान र थर्मल गन १ सय २० थान लगायतका सामाग्रीहरु भरतपुर महानगरपालिकालाई प्रदान गरेको थियो ।

भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीको नेतृत्वमा गएको प्रतिनिधी मण्डललाई गुर्मु सिटीका प्रतिनिधीहरु च्याङ्ग जिउ लिई, छिङ बिङ्ग, ह्याङ्ग सिङ्ग हान लगायतका प्रतिनिधी मण्डलले नेपाल-चीन सिमाना तातोपानीको मितेरी पुलमा प्रदान गरेको थियो ।

यसैगरी चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले पनि यसअघि भरतपुर महानगरपालिकालाई २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।