Logo

बागमती पेज

कार्तिक २६, २०७७ बुधबार

अंग्रेज फौजलाई परास्त गरेको सम्झनामा मनाईँयो सिन्धुलीगढी विजयोत्सव


काठमाडाैं । २५३ औं सिन्धुलीगढी विजयोत्सव मनाइएको छ। सोमबार कमलामाई नगरपालिकाको आयोजनामा ऐतिहासिक स्थल सिन्धुलीगढीमा सलामी र झण्डोत्तोलन गरेर सिन्धुली गढी विजयोत्सव मनाइएको हो।

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले झण्डोत्तोलन र नेपाली सेनाले सलामी दिएर विजयोत्सव मनाइएको थियाे । झण्डोत्तोलन गर्दै नगरप्रमुख खत्रीले स्थानिय सरकार आएपछि सिन्धुली गढीको संरक्षण र पुन निर्माणको कामले तिव्रता लिएको बताए।

देशकै नमुनाको रुपमा सिन्धुली गढीमा हाल युद्ध संग्रालय निर्माणको काम भइरहेको छ। ‘निर्माणाधिन युद्ध संग्राहलयको काम पुस मसान्तसम्ममा सम्पन्न गर्ने योजनामा छौं। रानी दरबार भन्दा पर बागमती प्रदेश सरकारले हिलस्टेशन बनाउँदै छ। यसको टेण्डर भएर सम्झौता भईसकेको छ। रानी दरबारको पनि दशैं अगाडी नै टेण्डर निस्कि सकेको छ।’ उनले भने, तत्कालीन गोर्खाली सेनाका नेतृत्व गर्ने बंशु गुरुङ, बंशराज पाण्डे, श्रीएसओ शर्मा, वीरभद्र उपाध्याय र तत्कालिन अंग्रेज फौजका दुई जना गरी ६ जनाको स्तम्भ निर्माण गरिने छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बहादुर गोर्खाली फौजका कारण नेपाललाई नै व्रिटिसहरुको उपनिवेश हुनबाट जोगाएको ऐतिहासिक क्षणको स्मरण गर्दै यसको महत्वलाई जोगाइराख्न विजयोत्सवको आयोजना गर्नुपरेको बताए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मन्जु देवकोटाले स्वागत गर्दै यसअघि भव्यरुपमा कार्यक्रमहरु गर्ने गरिए पनि यस वर्ष कोरोनाका कारण स्वास्थ्य सुरक्षा र सामाजिक दूरी कायम गर्दै सामान्य हिसावले विजयोत्सवको आयोजना गर्नु परेको बताइन् ।