Logo

बागमती पेज

मंसिर १, २०७७ सोमबार

उपत्यकामा संक्रमितको संख्या १ लाख नजिक


काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख नजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म उपत्यकामा ९७ हजार १५९ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये काठमाडौंमा ७८ हजार ६५०, भक्तपुरमा ७ हजार १३० र ललितपुरमा ११ हजार ३७९ जना रहेका छन् ।

जसमध्ये काठमाडौंमा ६४ हजार ७०, भक्तपुरमा ५ हजार ८६६ र ललितपुरमा ९ हजार ८९ जना निको भइसकेका छन् भने सक्रिय संक्रमित काठमाडौंमा १४ हजार २७९, भक्तपुरमा १ हजार १८८ र ललितपुरमा २ हजार २०४ जना रहेका छन् ।

यसैगरी हालसम्म काठमाडौंमा ३०१, भक्तपुरमा ७६ र ललितपुरमा ८६ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार सोमबार काठमाडौं उपत्यकामा ५०१ जनामा संक्रमण पुष्टि भएको छ । जसमा महिला २१२ र पुरुष २८९ जना रहेका छन् ।

मन्त्रालयका अनुसार तिहारको भाइटीकाका दिन सोमबार देशभर ११९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । तिहारकै कारणले बितेको २४ घण्टामा जम्मा ४ हजार ८३२ जनाको मात्र पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना पुष्टि भएको हो । संक्रमितमा ४६२ महिला र ७३५ पुरुष रहेको मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २९३४ जना संक्रमण मुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख १० हजार ९७३ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७६ हजार ३६४ रहेको छ । अब देशभर सक्रिय संक्रमित ३३ हजार ३७९ जना रहेका छन् ।

यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १२३० पुगेको छ । यस्तै १०१३ जना क्वारेन्टिनमा रहेका छन् भने संक्रमितमध्ये २८ हजार ३६० जना होम आइसोलेशनमा रहेका छन् । हाल मनाङ बाहेक अरु सब जिल्लामा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा उपत्यकाका तीन जिल्लासहित झापा, मोरङ, सुनसरी, चितवन, कास्की, नवलपुर, दाङ, रुपन्देही, पाल्पा र कैलाली रहेका छन् ।