Logo

बागमती पेज

मंसिर १०, २०७७ बुधबार

तीनै तहका सरकारले राज्यका सम्पत्ति सदुपयोग गर्न आवश्यक छः मुख्यमन्त्री पौडेल


हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राज्यका साझा सम्पत्ति तीनै तहका सरकारले सदुपयोग गर्न आवश्यक रहेको बताएका छन् । बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयको सभागृह निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले बन्दै गरेको भवन प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयका लागि निर्माण गरे पनि सरकारी निकायले आवश्यकतानुसार उपयोग गर्न सक्ने बताए ।

हेटौँडा उपमहानगरपालिका -२ स्थित कार्यालयको जमीनमा भवन निर्माण प्रारम्भ भएको हो । मुख्यमन्त्री पौडेलले स्थायी राजधानी घोषणासँगै अस्थायी मानसिकता हट्दै गएको उल्लेख गर्दै प्रदेश सरकारले अब स्थायी संरचना निर्माण गर्दै जाने बताए । उनले निर्माण कम्पनीलाई निर्धारित समयअगावै कामसक्न अनुरोध गर्दै काम चाँडो सके पुरस्कृत गरिने तथा तोकिएको समय कटाए आवश्यक कारवाही गरिने चेतावनी दिए ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले मोटरबाटो नपुगेका स्थानमा मोटरबाटो, आवासविहीनका लागि घर, पानीका लागि धारा तथा कुलो एवं अन्य आवश्यकता पूरा गर्ने गरी काम भइरहेको बताए  । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले प्रदेश सरकारसँग सहकार्यमा काम गर्दा धरै उपलब्धि हात पार्न सकिएको बताए ।