Logo

बागमती पेज

मंसिर १५, २०७७ सोमबार

ऋण लिएर बनाएको घर बस्न नपाई भयो खरानी


हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ ढुंगेनीको एक घरमा बिहीबार दिउँसो खाजा बनाउने क्रममा घरको छानोमा आगालागी भएको छ। स्थानीय बुद्धराम गोलेको घरमा आगलागी भएको वडाध्यक्ष कान्छाराम रुम्बाले जानकारी दिए।

आगो तत्काल नियन्त्रणमा आउन नसक्दा लत्ताकपडा, अन्नपात झिक्न नपाएको वडाध्यक्ष रुम्बाले बताए। आगलागीबाट घर जलेर नष्ट भएपछि अहिले गोलेको परिवार बिचल्लीमा परेका छन्। आगलागीबाट करिब ५/६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगो निभाउन गाउँलेसँग गुहार माग्दा माग्दै घर खरानी भएको गोलेले बताए। अन्न र घर अब खरानी भएकाले उनले गाउँपालिकामा सहयोगको अपिल गरेका छन्। ‘खान लाउन धौ धौ गरेर ऋण खोजेर बनाएको घर खरानी भयो,’ उनले भने, ‘छिमेकी दाइको परिवारसहित बसेको छु, यस्तै जाडो छ।’

बिहीबार दिउँसो घर जलेपछि प्रहरीले निरीक्षण गरेता पनि केही राहत नपाएको उनको गुनासो छ। उनले दुई वर्ष पहिले घर छाउन ल्याएको खरको अहिलेसम्म पनि पैसा तिर्न नसकेको बताए। उनको परिवारमा पाँचजना छन्।