Logo

बागमती पेज

मंसिर १८, २०७७ बिहीबार

एसियाली गेममा नेपालको सहयोग माग्दै कतार ओलम्पिक कमिटी


काठमाडौं । कतार ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीसँग सन् २०३० को एसियाली खेलकुद आयोजनाको दावेदारीका लागि औपचारिक रूपमा सहयोग र समर्थनका लागि बिहीबार अनुरोध गरेको छ ।

नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालय भ्रमण गर्नेक्रममा त्यस टोलीले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको नेपाली पक्षसँग दुई पक्षीय सहयोग र सम्बन्धलाई लिएर छलफल पनि गरेको छ ।

नेपाली टोलीमा उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र महासचिव निलेन्द्रराज श्रेष्ठ पनि सम्मिलित रहेका थिए । दोहा २०३० एसियाली खेलकुद दावेदारीको nflu नेपाल आएको १२ सदस्यीय टोलीको नेतृत्व कतार ओलम्पिक कमिटीका महासचिव रसिद जे ए अल्बुनइनले गरेका हुन् र उक्त टोलीमा नेपालका लागि कतारका राजदुतको पनि उपस्थिति रहेको थियो ।

टोलीले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि कतारले प्रस्तुत गरेको दावेदारीको विशेष कार्यक्रम पनि प्रस्तुत गरेको छ । कार्यक्रममा अध्यक्ष श्रेष्ठले कतारी टोलीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै सन् २०३० को एसियाली खेलकुद आयोजनाको कतारी दावेदारीको सफलताको कामना गरेका थिए । त्यस अवसरमा उनले भने, ‘कतारले यसअघि पनि सन् २००६ मा एसियाली खेलकुदको सफलतापूर्वक आयोजना गरिसकेको छ । खेलकुद विकासमा कतार र नेपाल अपसी सहयोगका लागि वचनबद्ध रहेका छन् ।’

अध्यक्ष श्रेष्ठले भने, ‘नेपाल र कतारको दुई पक्षीय सम्बन्ध पनि सुमधुर रहेको छ र यसले हामीबीचको खेल सम्बन्ध बलियो बनाउन मदत मिलेको छ ।’

कार्यक्रममा कतारी टोलीका प्रमुख अल्बुनइनले नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो देशको दावेदारीमा नेपालको सहयोग र समर्थनका लागि अनुरोध गरे । कतारी टोलीमा एसियाली एथलेटिक्स संघका अध्यक्ष डहलान जमन अल हमद र एसियाली भारोत्तोलन संघका अध्यक्ष मोहम्मद युसेफ अल मन पनि रहेका थिए ।