Logo

बागमती पेज

मंसिर २०, २०७७ शनिबार

सडकमा लत्रिएको र पुराना तार हटाउँदै ललितपुर महानगर


काठमाडौं । ललितपुर महानगरपालिकाले अव्यवस्थित तवरले टाँगेका र सडकमा लत्रिएर बसेको तार हटाउने भएको छ । अव्यवस्थित तारका कारण शहर कुरुप बनेको र दुर्घटनाको जोखिम बढेको भन्दै महानगरले त्यस्तो तार हटाउन लागेको हो ।

यसअघि, ललितपुर महानगर क्षेत्रका होर्डिङबोर्ड हटाएर नगर प्रहरीले सम्पदा सफाइ अभियान चलाएको थियो । होर्डिङबोर्ड हटाउने काम र सम्पदा सफाइ सकिएपछि तार काट्ने अभियान शुरु गर्न लागिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

शहरको शुन्दरताका लागी अव्यवस्थित तार हटाउन मेयर चिरिबावु महर्जनको निर्देशनपछि आइतबार (२१ मंसिर) देखि नगर प्रहरीले सो अभियान शुरु गर्न लागेको हो ।

अव्यवस्थित रुपमा टाँगिएको तारका कारण शहर भद्रगोल बन्दै छ । लत्रिएका तार र सड्कबाट होचो दुरिमा टाँगिएका तारले रातको समयमा सडक दुर्घटना बढ्न थालेको महानगरको निष्कर्ष छ । बिजुलीको तार र टेलिफोन तथा ईन्टरनेट सेवा प्रदायक कम्पनीको तार सँगै राख्दा आगलागीको जोखिम पनि बढेको छ ।

लत्रिएको तारका कारण सडक दुर्घटना भएमा सम्बन्धितलाई जिम्मेवार बनाउन इन्टनेट र टेलिफोन सेवा प्रदायक कम्पनीले आफ्नो तारमा अनिवार्य ट्याग राख्नुपर्ने नगर प्रहरी प्रमुख हाछेथुले बताए ।

सडक पार गराएका तार भुईंबाट मुल सड्कमा ६ मिटर उचाईमा हुनुपर्छ । सडक पेटीमा ४ मिटरको उचाईमा मात्र तार टाँग्नुपर्ने भएपनि अहिले सो उचाईको ख्याल नगर्दा दुर्घटनाको जोखिम बढेको महानगरको भनाइ छ ।

‘उचाईको पालना गरेमा बस र ट्रकले तार छुँदैन,’ नगर प्रहरी प्रमुख हाछेथुले भने, ‘अब हामी उचाईभन्दा तल लत्रिएका तारलाई मुठा पार्छौं, चुँडिएका र झुण्डिएर रहेका काम नलाग्ने तार हटाउँछौ ।’

तार व्यवस्थापनमा सहयोग गर्न महानगरपालिकाले इन्टरनेट सेवा प्रदायक कम्पनी, टेलिफोन सेवा प्रदायक कम्पनी र विद्युत्त प्राधिकरणलाई सहयोग गर्न आग्रह गरेको छ । तार व्यवस्थापन पछि ट्रकका सह–चालकले छतबाट लत्रिएका तार उठाउँदै सडक पार गर्नुपर्ने जोखिमपूर्ण अवस्थाका अन्त्य हुने बताइएको छ ।

त्यस्तै, सडक विस्तारपछि बीच भागमा रहेका बिजुलीका पोल र तारलाई पनि ललितपुर महानगरले हटाउने निर्णय गरेको छ ।