Logo

बागमती पेज

मंसिर ३०, २०७७ मंगलबार

प्रहरीमा बढ्यो आकर्षण: ५ हजार २ सय २७ पदका लागि, ९३ हजार एक सय ६९ आवेदन


काठमाडौं । सुरक्षा निकायको भर्नामा यो वर्ष उच्च आवेदन परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भर्नामा गत वर्ष भन्दा धेरै गुणा आवेदन परेको हो ।

नेपाल प्रहरीको प्रहरी जवानको भर्नामा १७ गुणा बढी आवेदन परेको छ । गत वर्ष ६ गुणा बढी मात्र आवेदन परेको थियो । यो वर्ष ५ हजार २ सय २७ पदमा आवेदन दिएकोमा ९३ हजार एक सय ६९ आवेदन परेको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए ।

सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा आवेदन परेको छ । जहाँ १५ हजार एक सय ४२ फर्म परेका छन् । लुम्बिनीपछि सबैभन्दा धेरै सुदुरपश्चिममा १४ हजार ७ सय ९८, प्रदेश नम्बर १ मा १४ हजार २ सय ८६, कर्णाली प्रदेशमा १० हजार एक सय ५५, २ नम्बर प्रदेशमा ९ हजार सात सय ५३ र उपत्यकामा ८ हजार सात सय ३९ आवेदन परेको छ ।

उपत्यकाका बाहिरका बागमती प्रदेशका जिल्लाहरुमा ४ हजार ३ सय ७६ आवेदन परेको छ । प्रहरी भर्नामा सबैभन्दा कम आकर्षण गण्डकी प्रदेशमा देखिएको छ । जहाँ ६ हजार एक सय ८० मात्र आवेदन परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गत वर्ष नेपाल प्रहरीले ६ हजार २ सय ४४ जवानको माग गरेकोमा ४१ हजार ७ सय ९६ मात्र आवेदन परेको थियो । प्रहरीमा महिलाको आकर्षण पनि बढेको छ । आवेदकमध्ये १९ हजार १ सय चार जना महिला छन् ।

आवेदन बढ्नुले प्रहरी जागिरमा आकर्षण बढ्नु नै प्रमुख कारण भएको हुनसक्ने प्रहरी प्रवक्ता एसएसपी कुँवर बताउँछन् । कोभिड–१९ ले सिर्जित अवस्थामा अन्यत्र अवसर कम भएकाले पनि आवेदन बढेको हुनसक्ने प्रहरी आँकलन छ ।

सशस्त्र प्रहरी बलमा ३० गुणा बढी आवेदन परेको छ । एक हजार आठ सय ३३ पदमा माग भएकोमा ५६ हजार चार सय ६३ आवेदन परेको छ । गत वर्ष थोरै आवेदन पर्दा पटक पटक आवेदन दिने म्याद थप्नुपरेको थियो । साथै लिखित परीक्षामा मागभन्दा थोरै उत्तिर्ण भएका थिए । ‘गत वर्षभन्दा यो वर्ष आवेदन धेरै गुणा बढी छ,’ सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी राजु अर्यालले भने । आवेदन बढाउन यसपटक सशस्त्र प्रहरीले पहिलोपटक ७७ जिल्लाबाटै आवेदन दिनसक्ने व्यवस्था मिलाएको थियो ।

सशस्त्र प्रहरीका एक उच्च अधिकारीका अनुसार हिमाली जिल्लाहरुबाट भर्नामा थप प्रोत्साहन गरिएको छ । हिमाली जिल्लाहरुमा बोर्डर आउट पोष्ट(बिओपी) स्थापना भइरहेको र त्यहाँ काम गर्न हिमाली जिल्लाकै जनशक्ति हुँदा सहज हुने भएकाले सशस्त्र प्रहरी बलले यसमा जोड दिएको हो ।

कोरोना महामारीपछि आर्थिक क्षेत्रमा परेको असरले पछिल्लो समय बेरोजगारी बढेकाले सरकारी जागिरमा आवेदन बढेको आँकलन गरिएको छ । लोक सेवा आयोगले लिखित परीक्षा लिने भएकाले प्रहरीको भर्नामा निष्पक्षता हुने भएकाले सर्वसाधरणको विश्वास समेत बढेको छ ।