Logo

बागमती पेज

पुस ५, २०७७ आईतबार

गोपिकृष्ण हल भत्काउन सुरु


काठमाण्डौको चाबहिलमा रहेको गोपिकृष्ण हल भत्काउन सुरु गरिएको छ । दर्शकको बाक्लो भीड लाग्ने यो हल अब पुरानो स्वरुपमा रहने छैन । यसका संचालकले ३ दिनदेखि हल भत्काउन सुरु गरेका छन् । गोपिकृष्णमा ७ वटा पर्दा रहेका छन् । जसमध्ये, गोपि, कृष्ण, राधा र मिरा हल भत्काइनेछ । अब, दर्शकले चलचित्र हेर्नका लागि ओम, नम र शिवायःमा मात्र पाउनेछन् ।

हल खुलेपछि ओम, नम र शिवायःमा मात्र चलचित्र चल्नेछन् । यी तिन पर्दामा करिब ६ सय दर्शक मात्र अट्न सक्नेछन् । यसैले पनि गोपिकृष्ण हल भत्केपछि दर्शकको ठुलो भीड मिस हुनेछ ।

यसका संचालकले सपिङ मल बनाउने योजना अनुसार, हल भत्काउन लागेका हुन् । गोपिकृष्ण हलमा म्यानेजर प्रदिप दाहालले भने–‘अब बन्ने भवनमा २ तला पार्किङ, ४–५ तला सपिङ सेन्टर, लज, रेष्टुरेन्ट, स्विमिङ पूल बनाउने योजना छ । यसपछि, छतमा गोपि र कृष्ण नाममा २ वटा हल संचालन हुनेछन् । नयाँ भवन बन्नका लागि ३ बर्ष लाग्नेछ ।’ अब, ओम हलमा थ्रिडी पर्दा राख्ने तयारी गरिएको छ । यस्तै, ओम, नम र शिवायःमा नयाँ पर्दा र चिम राख्ने तयारी हल संचालकले गरेका छन् ।

नेपाली चलचित्रको भीडभाड देखाउन होस् या कलाकार तथा निर्माता–निर्देशकले दर्शकसँग सिधै साक्षात्कार गर्नका लागि गोपिकृष्ण हल सबैभन्दा उत्तम मानिन्थ्यो । यस्तै, नेपाली चलचित्रको लागि यो हलले राम्रो शेयर पनि दिदै आएको थियो ।