काठमाडौँ । चर्चित कलाकार तथा निर्देशक विष्णु सापकोटाको निर्देशनमा तयार गरिएको ‘मितज्यु बोल्छन्’ नामक सोसल कमेडी सिरिजको भाग १ आजदेखि औपचारिक रूपमा प्रशारण सुरु भएको छ। सामाजिक कुरीति, विसङ्गति र सहकारी पीडितका आवाजलाई मनोरञ्जनको माध्यमबाट उजागर गर्ने उद्देश्यका साथ यो कार्यक्रम तयार गरिएको हो।
निर्देशक सापकोटाका अनुसार, कमेडीमा सामाजिक जीवनका गहिरा सन्देशहरूलाई हाँस्य व्यङ्ग्यको शैलीमा प्रस्तुत गरिएको छ। विशेष गरी, मितज्युबीचको पारस्परिक सम्बन्ध कसरी मजबुत बनाइन्छ, आपसी भरोसा र समझदारी कसरी टिकाइन्छ भन्ने सन्देश पनि यसमा समेटिएको छ।
“हाम्रो समाजमा विद्यमान सहकारी पीडितका समस्या, बैदेशिक रोजगारीका विसङ्गति, रिण सापटी लिएर नतिर्ने प्रवृत्ति, र नजिकका सम्बन्धमा देखिने व्यवहारगत दूरी — यी सबैलाई व्यङ्ग्यात्मक तरिकाले उजागर गर्ने प्रयास गरिएको छ,” निर्देशक सापकोटाले बागमती पेजसँगको कुराकानीमा बताए।
कार्यक्रममा विष्णु सापकोटा, सुरेन्द्र केशी, जोशना फुयाल, आयान गीरी लगायतका लोकप्रिय कलाकारहरूको सशक्त अभिनय रहेको छ। हरेक पात्रले आफ्ना संवाद र शैलीमार्फत सामाजिक सन्देश र मनोरञ्जनको उत्कृष्ट मिश्रण प्रस्तुत गरेका छन्।
‘मितज्यु बोल्छन्’ कमेडी सिरिज हरेक शुक्रबार साँझ आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक हुने जनाएको छ। पहिलो भाग सार्वजनिक भएको केही घण्टामै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको र धेरैले यसलाई सामाजिक सन्देशसहितको रमाइलो प्रस्तुतिका रूपमा स्वागत गरेका छन्।
निर्माताको टोलीले अगामी भागहरूमा पनि समाजका यथार्थ र व्यवहारगत बिषयहरूलाई हाँस्य व्यङ्ग्यका माध्यमबाट निरन्तर उजागर गर्ने योजना बनाएको जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्