Logo

बागमती पेज

पुस ६, २०७७ सोमबार

कागेश्वरी मनोहराको गागलफेदीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं.१ को गागलफेदीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापा, उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, वडा नं. १ का अध्यक्ष मकुन्द प्रसाद गजुरेल र स्वास्थ्य शाखाका अधिकृत लक्ष्मी कोइराला लगायतको उपस्थितिमा स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो ।

कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख थापाले गागलफेदीको शहिद पार्क नजिकका स्थानीयलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्दउश्यले आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिएको बताए । नगर प्रमुख थापाले नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका लागिपरेको बताउँदै स्वास्थ्य सेवालाई नगरबासीमैत्री बनाइएको जानकारी गराए ।

त्यसैगरी उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले शुभकामना मन्तब्य राख्दै गागलफेदीको माथिल्लो भेगमा बस्ने नगरबासीहरुलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एम्बुलेन्स सेवा सहित स्वास्थ्य संस्था स्थापना गरिएको बताईन् ।

कागेश्वरी मनोहरा नगरपालिकामा हाल ५ वटा स्वास्थ्य चोकी, एउटा मुलपानी नगर अस्पताल, वडा नं. ४, ७ र ८ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र (शहरी स्वास्थ्य क्लिनिक)सञ्चालनमा रहेका छन् ।अब कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ मा स्थापना भएको आधारभूत स्वास्थ्य सेवा केन्द्र संगै नगरमा ४ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रले स्वास्थ्य सेवा प्रदान गरिरहेको स्वास्थ्य अधिकृत लक्ष्मी कोइरालाले जानकारी गराएकी थिइन् ।

कागेश्वरी मनोहरा नगरपालिकाले ११ वटा गाउँघर क्लिनिक, २२ वटा खोप क्लिनिक २ वटा प्रजनन् स्वास्थ्य सेवा केन्द्र मार्फत् पनि नगरबासीहरुलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । एउटा आयुर्बेद औषधालय पनि कागेश्वरी मनोहरा नगरपालिकामा सञ्चालनमा रहेको छ ।