Logo

बागमती पेज

पुस १९, २०७७ आईतबार

चालक अनुमतिपत्रः बागमती प्रदेशमा प्रयोगात्मक परीक्षा शुरु


काठमाडौं । बागमती प्रदेशमा चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा खुला भएको छ । चन्द्रागिरि नगरपालिका -१२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले आजदेखि पुनः प्रयोगात्मक परीक्षा सञ्चालनमा ल्याएको हो ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्याङको स्वीकृतिमा सञ्चालित नेपालको सबैभन्दा ठूलो र सुविधा सम्पन्न सो एकेडेमी ३२ रोपनी जग्गामा फैलिएको छ । एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा शुरु भएको एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए ।

उनले भने, “प्रयोगात्मक परीक्षार्थीका लागि सामाजीक दूरी अनिवार्य कायम गरिनुका साथै ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।” सरकारले अवलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागी तीनखम्बे अर्थनीतिअनुसार विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो । ऐकेडेमीमा दुई पाङ्ग्रे, चारपाङ्ग्रे तथा ठूला सबै प्रकारका सवारी साधनको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका प्रबन्ध निर्देशक माधव अधिकारीले बताए ।

उनले भने, “न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइरहेका छौँ । निर्धारित स्वास्थ्य मापदण्ड पूरा गरी सबै प्रकारका यातायातका साधनको लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा आजदेखि सञ्चालनमा ल्याएका छौँ । गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता हो ।”

कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा  समेत आर्थिक सङ्कट परेको जनाइएको छ । सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमीले चरम आर्थिक समस्यामा परेको हो ।  “सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र प्रयोगात्मक परीक्षा पुनः सञ्चालन शुरु गरेका हौँ । हामी चरम आर्थिक सङ्कटमा छौँ, सरकार तथा स्थानीय निकायबाट समेत कुनै सुविधा पाएका छैनौँ”, एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले भने ।

एकेडेमीले सामाजिक दायित्वअन्तर्गत बन्दाबन्दीका समयमा चन्द्रागिरि नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा रु एक लाख आर्थिक सहयोगसमेत गरेको थियो । एकेडेमीले दक्ष चालकद्वारा सवारी सिक्न चाहनेका लागि विशेष सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मापदण्ड पालन गर्दै प्रशिक्षण सञ्चालनमा ल्याइएको स्थानीय समाजसेवीसमेत रहेका उनले जानकारी दिए ।