Logo

बागमती पेज

पुस २१, २०७७ मंगलबार

ज्येष्ठ नागरिकको घर-घरमा न्यानो कपडा वितरण गर्दै उपप्रमुख पुडासैनी


काठमाडौं । कागेश्वरी नगरपालिका उपप्रमुख बिन्दु पुडासैनी (सिम्खडा)ले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेकी छन् । उनले कागेश्वरी-३ भद्रबासका ज्येष्ठ नागरिकलाई जाडोको लागि न्यानो कपडा प्रदान गरेकी हुन् ।

उपप्रमुख पुडासैनी, वडा नं. ३ का वडा सदस्य सुनकुमार नगरकोटी लगायतको उपस्थितिमा वडामा रहेका ज्येष्ठ नागरिकहरुको घर-घरमा पुगी उनीहरुलाई जाडोको लागि न्यानो कपडा र पौष्टिक आहार वितरण गरिएको थियो ।

ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरुप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने उदेश्यका साथ नगरले विभिन्न समयमा सम्मान गर्दै आएको छ ।

ज्येष्ठ नागरिकलाई सम्मान गर्न आवश्यक रहेको भन्दै उपप्रमुख  सिम्खडाले उहाँहरुमा भएको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको धारणा व्यक्त गरिन् । नयाँ पुस्तालाई ज्येष्ठ नागरिकलाई सम्मान गर्न सिकाउनु पर्छ हामी सबै एकदिन ज्येष्ठ नागरिक हुन्छौं उनले भनिन् ।

त्यसै अनुरुप उपप्रमुखले वडा नं ३ भद्रबासमा रहेका ४ जना ज्येष्ठ नागरिकहरुको घरमा पुगी जाडोको लागि न्यानो कपडाको साथै  कोभिड-१९ को उच्च जोखिममा ज्येष्ठ नागरिक भएकाले उनीहरुलाई स्वास्थ्य सुरक्षा सचेतना प्रदान गर्नुको साथै प्रतिरोधात्मक क्षमता अभिबृद्धिका लागि पौष्टिक आहार र स्वास्थ्य सुरक्षा सामग्री अन्तर्गत मास्क, पन्जा, स्यानिटाइजर लगायतका सामग्रीहरु प्रदान गरेकी हुन् ।