Logo

बागमती पेज

पुस २३, २०७७ बिहीबार

टोखाका ज्येष्ठ नागरिकलाई घर-घरमा सम्मान


काठमाडौं । टोखा नगरपालिका वडा नं. २ का जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई घर-घरमा पुगि सम्मान गरिएको छ ।

टोखा-२ को सम्मान कार्यक्रममा वडा कार्यालय सम्म उपस्थित हुन नसकेका जेष्ठ नागरिकहरुलाई घर घरमा गएर सम्मान गरिएको हो । वडा-२ का वडाअध्यक्ष दिपक जोशी सहित वडा सदस्यहरु अशक्त जेष्ठ नागरिक तथा एकलमहिलाहरूलाई सम्मान गर्न घरदैलोमा पुगेका छन् ।

अशक्त जेष्ठ नागरिकहरूलाई घर सम्म पुगेर सम्मान गर्दा उनिहरुको आत्मबल बढ्ने र आशीर्वाद लिन पाउनुको साथै जेष्ठ नागरिकहरूको समस्या समेत बुझ्न पाउने हुँदा जनप्रतिनिधिहरु आफै घर-घर पुगेको कार्यक्रमका संयोजक तथा वडा सदस्य पञ्च कुमारी श्रेष्ठले जानकारी गराइन् ।

जनप्रतिनिधि भएसंगै टोखामा ज्येष्ठ नागरिकहरुलाई घर दैलो कार्यक्रम मार्फत सम्मान लगायतका कार्यक्रम गर्दै आएको उपप्रमुख ज्ञान माया डंगोलले जानकारी गराएकी छन् । कोरोना महामारीका कारण ज्येष्ठ नगारिकहको घर पुगेर भेट्दा जोखिम हुने भएकोले त्यस्ता कार्यक्रम गर्न नसकेको बताउदै ज्येष्ठ नागरिकहरु प्रति टोखा नगरपालिका संबेदनशील रहेको उपप्रमुख ढंगोलले बताइन् ।

उनले ज्येष्ठ नागरिकहरुको लागि भनेर नगरपालिकाले निःशुल्क होल बडी स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम समेत रहेको जानकारी दिँदै अहिले टोखा चण्डेश्वरी आइसोलेशन वार्ड प्रदेश अस्पताल भएकोले यस्ता कार्यक्रम गर्न नसकेको बताईन् । प्रत्येक वडामा जेष्ठ नागरिकका लागि आश्रम र विश्रम पार्क बनाउने योजना भएको हुँदा स्थान छनौट गर्न अनुरोध गरेकी छन् ।

टोखा-२ का वडाध्यक्ष दिपकराज जोशीका अनुसार यस वर्ष कोभिड-१९ र बढ्दो चिसोलाइ मध्य नजर गरि जेष्ठ नागरिकहरुलाई इलेक्ट्रोनिक मग र थर्मस दिँदा धेरै सहज हुने भएकाले वडामा उपस्थित हुन नसकेका जेष्ठ नागरिक हरूलाई घर सम्म गई सम्मान सामाग्री उहाँहरुको हातमा दिइएको हो । वडाध्यक्ष जोशीले बिगतका वर्षमा ज्येष्ठ नागरिकहरुलाई जाडोको लागि न्यानो कपडा अन्तर्गत ज्याकेट वितरण गरेको स्मरण गर्दै आगामी दिनमा पनि यस किसिमका कार्यक्रम गर्ने बताए ।