Logo

बागमती पेज

पुस २४, २०७७ शुक्रबार

विद्यालयमा कम्प्युटर ल्याव सञ्चालन, विद्यार्थी बने उत्साहित


सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-३ को चनौटेस्थित चण्डिका माध्यमिक विद्यालाई निःशुल्क कम्प्युटर प्रयोगशाला उपलब्ध गराईएको छ । फिक्कल गाउँपालिका भित्रका विभिन्न विद्यालयमा कम्प्युटर ल्याब सञ्चालनमा आएपछि विद्यार्थीहरु उत्साहित बनेका छन् ।

कक्षा ८ मा अध्ययनरत एक छात्राले भनिन्, विगतका वर्षहरुमा कम्प्युटर शिक्षा एसइइ पछि घरको अनुमतिमा सदरमुकाम तथा राजधानी गएर मात्र देख्न र सिक्न पाईन्थ्यो हाल आएर आफ्नै स्कूलमा आफैले चलाएर सिक्न पाउँदा धेरै खुशी छु ।

गाउँपालिका अध्यक्ष धन बहादुर कार्की, पालिका प्रवक्ता राजु बराल तथा वडा नं. ३ का अध्यक्ष टेक बहादुर रजन मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर पुलामी, प्राधानाध्यापक पृथ्वी बहादुर कार्की लगायतको उपस्थितिमा विद्यालयमा सोलार सहितको सुविधा सम्पन्न कम्प्युटर ल्याव सञ्चालन गरिएको हो ।

फिक्कल-३ का वडाध्यक्ष टेक बहादुर रजन मगरका अनुसार विद्यालयलाई ३ हाजार किलो वाट सोलार, १० थान ल्याप्टप, एक थान प्रोजेक्टर, १ थान प्रीन्टर, ३ किलो वाट सोलार, ५ थान ह्वाईट बोर्ड, ईनटरनेट जडानका सामग्री लगायतका अन्य स्टेसनरी समेत हस्तान्तरण गरिएको छ ।

चण्डिका माविलाई करिव रु १७ लाख रुपैँया लागतमा सोलार जडान, ल्यापटप, प्रोजेक्टर लगायतका स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो । सोलार स्कुलको आर्थिक सहायोग तथा गाउँपलिकाको समन्वयमा गाउँपलिका भित्रका जम्मा १५ वटा विद्यालयमा यस किसिमका कार्यक्रम हुने बताईएको छ ।

कम्प्युटर हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष कार्कीले सोलार स्कुलको विशेष सहयोग रहेको जानकारी गराउँदै गाउँपालिकाका विद्यालयलाई प्रविधिमैत्री बनाउने धारण राखेका थिए । हाल मावि र निमावि तहका विद्यार्थीले मात्र प्राविधिक शिक्षा सिक्न पाउने भएको जानकारी गराउँदै आगामी दिनमा प्रावि तह सम्म कम्प्युटर शिक्षा उपलब्ध गराउन लागि पर्ने बताए । अध्यक्ष कार्कीले वितरण गरिएका सामग्रीको सहि तरिकाले सदुपयोग गर्न समेत विद्यालयलाई अनुरोध गरे ।

प्रवक्ता बरालले विद्यालयलाई प्रविधिसँग जोड्न आफू हरपल लागि परेको बताउँदै विभिन्न किसिमका संघ-संस्थासँग सहकार्य गरी फिक्कल भित्र बाँकी रहेका विद्यालयहरुलाई कम्प्युटर र अन्य प्रविधिसँग जोड्न सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

फिक्कल-३ का वडाध्यक्ष रजन मगरले प्रविधिको युगमा कम्प्युटर शिक्षा अहिलेको आवश्यक्ता हो भन्दै ग्रामिण भेगमा विद्यार्थी बाहिर गएर सिक्न पनि समस्या भएका कारण यो निकै प्रभावकारी रहेको बताए । उनले भने, आधुनिक युगका विद्यार्थीलाई प्रविधिसँग जोड्न पाउँदा आफू खुशी भएको छु ।

वडाध्यक्ष मगरले विगतमा कक्षा १-३ सम्मको नयाँ पाठ्यक्रम सम्बन्धि तालिम दिएको बताउँदै आगामी दिनमा विज्ञानको प्राक्टिकल सम्बन्धि समाग्री उपलब्ध गराएर कक्षा ६ देखि १० सम्म गणित र विज्ञान विषका लागि प्राक्टिकल गराउने योजना रहेको जानकारी गराए ।

चण्डिका माध्यमिक विद्यालय चनौटेका प्रधानाध्यापक कृति बहादुर कार्कीले विद्यालयलाई सोलार, कम्प्युटर लगायत विभिन्न प्राविधिक सामग्री प्रदान गरेकोमा फिक्कल गाउँपालिका तथा सोलार स्कुललाई धन्यवाद व्यक्त गर्दै प्राप्त समाग्रीको सहि तरिकाले सदुपयोग गर्ने बताए ।