Logo

बागमती पेज

माघ २५, २०७७ आईतबार

खाँडादेवी एकिकृत नमुना बस्ती उद्घाटन: माझी समुदायमा छायो खुशीयाली


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रामेछापमा निर्माण सम्पन्न भएको खाँडादेवी एकीकृत नमुना बस्तीको उद्घाटन गरेका छन् । एकीकृत नमुना बस्तीको उद्घाटन गरेसँगै माझी समुदायमा निकै खुशीयाली छाएको छ ।

विगतका वर्षमा चिसो बढ्न थालेपछि चिन्तित बन्ने माझी समुदाय एकीकृत नमुना बस्तीको उद्घाटन भएपश्चात आगामी दिनमा न्यानो घरभित्र बस्न पाउँदा उत्साहित बनेका छन् ।

रामेछापको खाँडादेवी गाउँपालिका–३ भीरपानीस्थित डफ्काको माझी गाउँमा निर्मित एकीकृत नमुना बस्ती शनिबार एक कार्यक्रमबीच उद्घाटन तथा हस्तान्तरण गरेका हुन् ।

नमुना बस्तीको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जनताको सुरक्षित आवासका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास, जनता आवास, खरको छानो मुक्त कार्यक्रम लगायतका कामहरु गरिरहेको जानकारी गराए ।

उनले प्रदेश सरकार आवास विहीन नागरिकलाई व्यवस्थित आवासको व्यवस्था गर्न लागि पर्ने प्रतिवद्धता जनाएका मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले बताए ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले एकीकृत पर्यटकीय बस्ती निर्माणसँगै डब्खाका सीमान्तकृत माझी समुदायको जीवनस्तर उकास्न सहयोग पुग्ने बताएका थिए ।

उनले एकीकृत बस्तीमा होमस्टे सञ्चालन गरेर आर्थिक उपार्जन गर्न सकिने भन्दै एकीकृत वस्ती विकासको अवधारणालाई आगामी दिनमा समेत जोड दिनुपर्ने धारणा राखे ।

सरकारको २ करोड २५ लाख
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेल, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको पहलमा नमूना बस्ती समुदायलाई हस्तान्तरण गरिएको हो ।

बस्ती निर्माणका लागि बागमती प्रदेश सरकारले डेढ करोड र गाउँपालिकाले ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो । एकीकृत बस्तीमा हाल ४२ वटा २ कोठे घर बनेका छन् । बस्ती निर्माणको लागि स्थानीय माझी समुदायले २६ रोपनी जग्गा उपलब्ध गराएका थिए ।

कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जिल्लामै पहिलो एकीकृत नमुना बस्ती निर्माण हुनु खुशीको विषय भएको बताए ।

बस्तीभित्र ४२ वटा घरसहित चिल्डेनपार्क, टावर, सभा हल, स्विमिङ पुल लगायतका पूर्वाधार निर्माण हुनेछन् । एकीकृत वस्तीमा सामुदायिक भवन, खेल मैदान लगायतका संरचना निर्माण गरिएको छ । गाउँपालिकाले एकीकृत बस्तीलाई होमस्टेको रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।