Logo

बागमती पेज

चैत्र ११, २०७७ बुधबार

सीप सिक्ने मात्र हैन व्यवहारमा लागु गर्न आवश्यक छः नगरप्रमुख थापा


Mayor_Krishnahari_Thapa

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा प्रस्तावना लेखन, बैठक सञ्चालन तथा निणर्य लेखन सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ ।

कागेश्वरी -८ को आर्थिक सहयोगमा भएको प्रस्तावना लेखन तालिम चैत्र ६ गते देखि  १० गते सम्म गोठाटारमा भएको जानकारी वडा सचिव सविना श्रेष्ठले दिएकी छन् ।

सम्पन्न तालिमका प्रमुख अतिथि तथा नगर प्रमुख कृष्णहरी थापाले महिलाहरुले आफ्नो क्षमताको विकास गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए । तालिमले व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।

नगर प्रमुख थापाले भने, ‘सीप सिक्ने मात्र हैन व्यवहारमा लागु गर्न आवश्यक छ । तपाईँहरुले तालिममा सिकेको ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागु गर्नुहोस् नगरले थप सहयोग गर्छ ।’

नगर प्रमुख थापाले नगरवासीहरुको माग र चाहना बमोजिमका योजनाहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको जानकारी गराए । नगरपालिकाले महिला, बालबालिका, जेष्ठ नागरिक, अपांग लगायतका वर्गको हक, हित र उत्थानका कार्यहरुलाई विशेष प्राथमिकता दिएर कार्य गरिरहेको नगर प्रमुख थापाको भनाई रहेको थियो ।

कागेश्वरी -८ का वडाध्यक्ष श्रीकृष्ण प्रसाद चापागाँईले महिलाहरुको क्षमता विकास र आय आर्जनमूलक कार्य गर्नका लागि वडाले आवश्यक बजेट बिनियोजन गरी विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए । वडाध्यक्ष चापागाँईले वडा कार्यालय महिलाहरुको हक, हित र उत्थानका लागि लागिपरेको बताउदै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कागेश्वरी मनोहरा वडा नं ८ का जनप्रतिनिधिहरु, प्रशिक्षक , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।