Logo

मेघनाथ पहाडी

बैशाख १८, २०७८ शनिबार

पूर्वाधार विकासमा सडक निर्माणलाई विषेश जोड दिएका छौं : अध्यक्ष राजु बराल


काठमाडौं । निर्वाचन पश्चात स्थानीय तहमा विकास निर्माणका कामले निकै फड्को मारेको छ । धेरै कामहरु भएका छन् । ति काम साना वा ठूला नै किन नहुन् । स्थानीयले केही कुरामा विरोध गर्नु र घचघच्याउनु राम्रो पक्ष हो । जसले हामी जनप्रतिनिधिहरुलाई काम गर्न थप सहज हुन्छ । फिक्कल गाउँपालिका -५का वडाध्यक्ष तथा पालिका प्रवत्ता राजु बराल भन्छन्, ‘चुनौती नै अवसर हो, हामीले यस्ता चुनौतीलाई अवसरमा परिणत गर्दै अगाडी बढ्न आवश्यक छ ।’

वडाध्यक्ष तथा प्रवत्ता बरालले सबै जनप्रतिनिधिको श्रम, लगाव र मिहिनेतका साथ वडामा भएका श्रोत साधन परिचालन गर्दै सक्रिय रुपमा वडाको टीम निकै लागु परेर काम गर्दै आएको जनाएका छन् । जसमा स्थानीय निर्वाचन अघि वडामा मात्र नभएर सिङ्गो गाउँपालिका भित्र पनि धेरै सडक-सञ्जाल थिएनन् । केही भएका पनि अव्यवस्तिथ थिए । हाल आएर वडाले भौतिक पुर्वाधार विकास निर्माणमा पनि सडक विस्तारलाई निकै प्राथमिकता दिईएको छ ।

जसमा आफू निर्वाचित भएपश्चात वडामा विभिन्न किसिमका समस्याहरु समाधान गर्दै विशेष गरी सडकलाई प्राथमिकतामा राखेर स्थानीयको सहभागिताका आधारमा सम्भव भए सम्म सडक विस्तार गरेको छौं । उनले भने- ‘मुख्य विकास भनेकै पहिलो सडक सञ्जाल रहेछ, त्यसकारण हामी जनताको माग अनुसार सडक विस्तार गर्न लागि परेका छौं ।’

२०७४ सालमा भएको स्थानीय निर्वाचन पछि फिक्कल- ५ मा पूर्वाधार विकास निर्माणमा ९५ प्रतिशत सडक सञ्जाल विस्तारका काम सम्पन्न भएका छन् । हाल धमाधम सडकको जालि हाल्ने, वाल लगाउँने, ढलान गर्ने, स्वयलिङ गर्ने लगायत स्तरोन्नतीका काम भईरहेका छन् ।

हाल वडामा सबैभन्दा धेरै बजेट स्तरोन्तिका काममा खर्च गरिएको छ । विगतका वर्षहरुमा अन्तर वडा जोड्ने सडक निर्माण भएको थियन यस आर्थिक वर्षमा यो कामको पनि शुरुवात भएको छ । जसमा फिक्कल ५ बाट निम्न वडाहरु-३, ६ र वडा नं. १ एक आपसमा जोडिएका छन् । वडा नं. ४ जोड्ने काम पनि तिब्र गतिमा हुँदै आएको जानकारी अध्यक्ष राजु बरालले दिएका छन् ।

वडा भित्र पञ्चकन्या-सोल्पा भन्ज्याङ हुँदै फिक्कल सम्मको सडक निर्माण, झगरेबेसी-सोल्पाभञ्ज्याङ-देबीटार हुँदै फिक्कल जोड्ने सडकमा कालोपत्रेको काम समेत शुरुभएको छ । त्यसैगरी नारिमखोला-जाङजाङ हुँदै देबीटार-फिक्कल जोड्ने सडकको काम सम्पन्न भएको छ । नारिम खोला-बार्हबिसे-ठुल्ढुङ्गा सडको काम सम्पन्न भएको छ । हात्तिढुंगा-फिक्कल सिँडि निर्माण सम्पन्न गरिएको छ । जाङजाङ -लहरेनी-रत्नावती जाने सडक निर्माणाधिन अवस्थामा रहेको छ भने वडा भित्रका अन्य साना र शाखा सडक निर्माणका कामहरु भईरहेका छन् ।

त्यसैगरी वडाभित्रका विभिन्न भवन निर्माण गरिएको छ जसमा वडा कार्यालय भवन निर्माण सम्पन्न, सोल्पाठाना स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न, कृषि उपज केन्द्र निर्माण सम्पन्न, प्रहरी चौकी भवन निर्माण सम्पन्न, जाङजाङ गाउँघर क्लिनिक भवन निर्माण सम्पन्न, ठुल्ढुङ्गा गाउँघर क्लिनिक भवन निर्माण सम्पन्न, महिला सहकारी भवन निर्माण सम्पन्न, जाङजाङको स्कूल निर्माणाधिन अवस्थामा रहेको छ, फिक्कल मावि सोल्पाको एउटा भवन निर्माणाधिन अवस्थामा रहेको छ भने अर्को भवन सिल्यान्यास गर्ने तयारी भईरहेको छ ।

वडावासीको माग र चाहाना अनुरुप झगरेवेशीमा जाल्पादेवी मन्दिर, जाङजाङमा शिब मन्दिर, कर्पूमा भिमसेन मन्दिर तीनवटै मन्दिरहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।

युवा तथा विद्यार्थीहरुलाई पढाईमा मात्र सिमित बनाउने भन्दा पनि खेलकुद लगायतका विभिन्न बाहिरीज्ञान आवस्यक रहेका कारण उनीहरुको चाहानाअनुरुप खेलकुदमा डाँडागाउँ फुटबल ग्राउण्ड निर्माण सम्पन्न, बाटुलीटार फुटबल ग्राउण्ड निर्माण सम्पन्न, झगरेवेशी व्याटविन्टन कोण निर्माण सम्पन्न, जाङजाङ भलिबल ग्राउण्ड निर्माण सम्मपन्न र  बाटुलीटार कभर्डहल निर्माणको तयारीमा रहेको छ ।

डाँडागाउँमा आँप लिच्चि कटहरको बगैंचा निर्माण गरिएको, उद्धव स्मृति पार्क निर्माण सम्पन्न, जितुखोला प्रतिक्षालय, पञ्चकन्या शौचालय निर्माण सम्पन्न, नारिमखोला प्रतिक्षालय निर्माण सम्पन्न गरिएको छ ।

कृषहरुलाई खेतीगर्न पानीको अभाव भएका कारण उनीहरुको आवश्यक्ता र चाहानालाई ख्याल गर्दै डाँडागाउँ लिफ्ट सिंचाई, झगरेबेशी लिफ्ट सिंचाई, नारिमखोला लिफ्ट सिंचाई, पञ्चकन्या सिंचाई, काफलचुरी थोपा सिंचाई लगायत वडा भित्रका सिंचाईका योजनाहरु सम्पन्न भएका छन् ।

केन्द्रीय प्रसारणको विद्युत्त राजमार्ग- कर्फु गैरीगाँउ हुँदै वडा कार्यालय आसपासका क्षेत्रमा र पञ्चकन्या-झगरेबेशीमा पनि विद्युत्तको सम्मपुर्ण काम सम्पन्न भएको छ । त्यस्तै गरी वडाका विभिन्न स्थानमा पोल गाड्ने लगायतका काम तिब्र गतिका साथ अगाडी बढाईएको छ । आगामी आर्थिक वर्षमा वडा भित्रका टोल-टोलमा बत्ति पुर्याउने र उज्यालो वडा बनाउने योजना रहेको अध्यक्ष राजु बरालले बताए ।

यतिमात्र नभएर भौतिक पूर्वाधार विकास निर्माण सम्बन्धि उल्लेखनीय प्रगति भएको छ । सिमित श्रोत साधन भएका कारण सके सम्म र मिले अनुसारका विकास निर्माणका काम गर्न बाँकी नराखेको अध्यक्ष बराल बताउँछन् ।

२०७४ सालको स्थानीय निर्वाचन पछि देशमा विकासले निकै फड्को मारेको छ । ति काम जनताले प्रत्यक्ष रुपमा देखेका छन् राम्रोसँग मुल्याङ्कन गर्दै विकास भएको महसुस गरेका छन् । तर पनि जनताका सबै आवश्यक्ता र चाहाना भने पुरा भएका छैनन् । जनताका माग र आवश्यक्ता पुरा गर्न हाल पर्याप्त बजेटको अभाव छ ।