Logo

मेघनाथ पहाडी

बैशाख २३, २०७८ बिहीबार

दक्षिणकालीको आइसोलेसन सेन्टर: नगर प्रमुख र उप-प्रमुखद्वारा निरीक्षण


काठमाडौं । दक्षिणकाली नगरपालिकाले चाल्नाखेल प्राथमिक स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टरको रुपमा परिणत गरि तयारी अवस्थामा राखेको छ । सो आइसोलेसन सेन्टरको नगर प्रमुख मोहन बस्नेत, उप-प्रमुख बसन्ती डंगोल तामाङ लगायतले निरीक्षण गरेका छन् ।

तयारी अवस्थामा राखेको आइसोलेसन सेन्टरको अवलोकन गर्दै नगरप्रमुख मोहन बस्नेतले नगरवासीलाई घरमै सुरक्षित रहन र आवश्यक काममा बाहिर निस्कनै पर्ने भएमा स्वास्थ्य मापदण्ड पुरा गर्न समेत अनुरोध गरेका थिए । नगरप्रमुख बस्नेतले नगरमा कोभिडको समस्या समाधानको लागि आफूहरु लागि परेको बताउँदै नगरवासीमा सतर्कता अपनाउन आवश्यक रहेको बताए ।

निरीक्षण पश्चात उप-प्रमुख तामाङले कोरोनो संक्रमित विरामीको संख्या उच्च दरमा बढीरहेकोले आम नगरवासीलाई सजगता अपनाउन आग्रह गरिन् । उनले सामाजिक र भौतिक दूरी कायम गरि अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र बारम्बार साबुन पानीले हात धुन समेत अनुरोध गरेकी छन् ।

तयारी अवस्थामा राखेको स्वास्थ्य चौकीमा अक्सिजन सहितको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । कोभिड-१९ को दोस्रो कहरबाट दक्षिणकाली नगरपालिका पनि अछुतो रहेको छैन । बिगतमा जस्तै यो पटक पनि चाल्नाखेल प्राथमिक स्वास्थ्य चौकीमा आईसोलेसन सेन्टर अझ प्रभावकारी रूपमा तयार गरिएको नगरपालिकाले जनाएको छ ।

बैशाख २२ गते सम्म दक्षिणकाली नगरपालिकाका ९ महिला र २९ जना पुरुष गरि कुल ३८ जनामा कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा २ महिला र ११ गरि १३ जना संक्रमित थपिएको जानकारी गराएको छ ।