Logo


उहिले ….
उसले ढुङ्गा टिप भन्यो-टिपेँ
हान भन्यो-हानेँ
फोर भन्यो- कैयन झ्यालहरु फोरेँ
नतिजा अरुण तेस्रो मृत्यू भयो

सिलसिला फेरि दोहोरियो
फेरि सडक तता भन्यो-तताएँ
टायर बाल भन्यो-बालेँ
गाडी जला भन्यो- जलाएँ
गिरप्तारी दे भन्यो- दिएँ
नतिजा महाकाली सकियो

फूललाई काँडा भन् भन्यो- भनेँ
अध्यारोलाई उज्यालो भन् भन्यो- भनेँ
हाम्रो सरकार भन् भन्यो-भनेँ
चुप लाग् भन्यो- चुप लागेँ
नतिजा देश लोडसेडिङ्ले निल्यो

पार्टिको झण्डा ओड् भन्यो- ओडेँ
कफन बाँध् भन्यो – बाधेँ
भरुवा बोक् भन्यो – बोकेँ
भ्रष्टाचार नदेखे झै गर भन्यो – आँखा चिम्लिएँ
परिणाम देश गरीब राष्ट्रमा सूचिकृत भयो

देश हैन पार्टी भन् भन्यो- त्यसै गरेँ
पार्टी जिन्दाबाद भन् भन्यो- जिन्दाबाद भनेँ
हात बाँध् भन्यो- बाधेँ
नतिजा सुस्तामा देश डुब्यो
कालापानीमा देश खुम्चियो

मेरो आँखा देख्दैन
मेरो कान सुन्दैन
मेरो दिमाग सोच्दैन
मेरो हात ठडिदैन
लाग्छ,
यी सबै पार्टिको निष्ठावान कार्यकर्ता हुन्

निकै पछि महसुश गरेँ
अहिले कार्यकर्ताबाट म नागरिक भएको छु
पार्टी त्यागेर देश भएको छु
तर
जब देश भएर हेरेँ
अहिले म उभिएको ठाउँ दशगजा पारी परेको छ
र मेरो नागरिकता वंशज खोजिरहेछ ….