Logo

बागमती पेज

जेष्ठ ३, २०७८ सोमबार

“स्मृतिका पानामा कमरेड मदन भण्डारी”


काठमाडौं । नेपाली राजनितीका एक जाज्वल्यमान प्रकाशपुञ्ज कमरेड मदनकुमार भण्डारी २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा हामी माझबाट सदा-सदाको लागि अस्ताउनु भयो । श्रदेय कमरेड स्व. मदनकुमार भण्डारी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदान र आजको आवश्यकता बारे संक्षिप्तमा केही चर्चा गर्न चाहन्छु ।

कमरेड मदनकुमार भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । पिता देबीप्रसाद भण्डारी र माता चन्द्रकला भण्डारीको पाँच भाइ छोराहरु मध्ये उहाँ माईला छोरा हुनुहुन्छ। उहाँको चार दिदीबहिनी, श्रीमती र दुई छोरीहरु छन्।

२०१५ सालदेखि जन्मथलो ढुङ्गेसाघु बाट पढाइ शुरु गर्नुभएका उहाँले भारतको बनारसमा स्नातकोत्तर गर्नुभएको थियो। पढाइको सिलसिलामा बनारस बस्ने क्रममा उहाँलाई राजनितीले प्रभाव पार्न थाल्यो र २०२४ सालदेखि नै माक्सवाद प्रति आकर्षित भई पुष्पलाल समुहमा संगठित हुनुभयो। फलस्वरूप २०२९ सालमा पुष्पलालको जनवादी साँस्कृतिक मोर्चाको केन्द्रीय सदस्य बन्नु भयो।

आफु संगठित हुँदै र अरुलाई संगठित गर्दै पञ्चायती शासकले जनतालाई गरेको अन्याय, अत्याचार शोषण दमनको समुल अन्त्य गर्ने महान अभियानमा निरन्तर आफुलाई अग्रभागमा राखेर पाटीको सांगठनिक गतिविधि बढाइरहनु भयो। राज्य भने अझ उडन्ड, दमनकारी र उग्र भएर आफ्नो संयन्त्रहरु परिचालन गरिरहेको थियो। यस्तो अवस्थामा पनि कमरेड मदन भण्डारी भुमिगत जीवन व्यतीत गर्दै अनेकौं नामबाट( सागर,लोकेश, वर्वरिक, मकुम, पखेती, बीबीआर, श्वेतशार्दुल, जीवन, जीवन शर्मा, राजमोति आदि) कार्यकर्ता र जनता माझ डटिरहनु भयो। देश जर्जर बन्दै थियो, समय जटिलता तिर मोडिदै थियो, यो बेला विभिन्न समुहमा बिभक्त कम्युनिस्ट पाटीहरु आ- आफ्नो ढंगले आ- आफ्नो ठाउँमा संघर्षरत थिए एवं क्रियासिल थिए।

परिस्थिति विषम बन्दै थियो यो बेला मदन भण्डारी र समकालीन सहयोद्दाहरु बीच एक आपसमा एकताको निम्ति धनीभुत छलफलहरु बढीरहेको थियो।समयको तीब्र मागलाई मध्यनजर राख्दै छरिएर रहेको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने उदेश्यले २०३२ सालमा को. के. को निर्माण गर्ने कार्य सम्पन्न भएको थियो। यसले देश, बिदेशका क्रान्तिकारी कम्युनिस्टहरु लाई उत्साहित तुल्याएको थियो। यो निकै दुरगामी महत्त्वको घटना थियो। कमरेड मदन भण्डारी को.के. को केन्द्रीय सदस्य हुँदै २०३५ सालमा मालेको केन्द्रीय सदस्य,२०४१ सालमा पोलिटब्युरो सदस्य,२०४६ सालको चौथौ महाधिवेशन बाट महासचिव,२०४७ सालमा माले- माक्सवादी एकीकरण पछि एमालेको महासचिव र २०४९ सालको पाँचौ महाधिवेशन बाट पुनः महासचिव पदमा निर्वाचित हुनुभयो।

जीवनको लामो उतार- चढाव सगै नेपाली राजनितीमा चर्चाको शिखर पुग्न सफल व्यक्तित्व कमरेड मदन भण्डारी प्रखर वक्ता,कुसल संगठक र राजनितिक चिन्तक हुनुहुन्थ्यो। मुलतः ४६ को आन्दोलन पछि खुलामञ्च लगायत देशभरका विशाल जनसभाहरुलाइ सम्बोधन गर्ने क्रममा तेजस्वी, मृदुभाषी,ओजपूणर् शव्दले ओतपोत भाषण बाट सारा कार्यकर्ता र नेपाली जनता मन्त्रमुग्ध बनाउनु भयो । त्यति मात्र होईन सार्वजनिक सभाबाटै राजालाइ जनताको छोरा सँग चुनाव लड्ने चुनौती दिदै महाराजधिराजलाई श्रीपेच खोली चुनाबी मैदानमा उत्रन आह्वान गरिपछि उहाँको लोकप्रियताले सगरमाथाको उचाइ चुम्यो।

जननेता मदन भण्डारी वास्तवमा विलक्षण प्रतिभाको प्रतिमुर्ति हुनुहुन्थ्यो, उहाँले नेपाली कम्युनिस्ट आन्दोलन लाई एउटा नयाँ मोडमा पुर्याउनु भो भने विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ तरङ्ग तरङ्गित गरिदिनु भयो। बिशेष गरेर विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला र सोभियत संघमा कम्युनिस्ट पाटीको बिघटनले दुनियाँका कम्युनिस्ट पाटीहरु तिलबिलाई रहेको बेला यी सब घटना परिघटनाका कारण कमरेड मदन भण्डारीले नेपाली विशिष्टताको आधारमा माक्सवादको सृजनात्मक प्रयोग “जनताको बहुदलीय जनवाद” सिद्धान्त प्रतिपादन गर्नु भयो। यो सिद्धान्त लाई मार्गदर्शक सिद्धान्तको रुपमा पाटीले आत्मसात गर्यो।

जबजका बिशेषताहरु यसप्रकार छन् संविधानको सर्वोच्चता, बहुदलीय खुला समाज,शक्ति पृथकीकरणको सिद्धान्त,मानव अधिकारको रक्षा,बहुदलीय प्रतिस्पर्धाको प्रणाली,आवधिक निर्वाचन,कानुनको शासन,जनताको जनवादी व्यवस्थाको सुदृढीकरण,विदेशी पुँजी र प्रविधि,क्षतिपूर्ति,विदेश निति,नेतृत्व र अधिनायकत्व । जबजले अघि सारेका यीनै सिद्धान्तका आधारमा २०४८ सालको आम निर्वाचनमा काठमाडौको २/२ निर्वाचन क्षेत्रबाट कमरेड मदन भण्डारीले वहालवाला प्रधानमन्त्री लाई पराजित गरि अद्भुत बिजय हासिल गर्नु भो। साथै सिङ्गो पाटीलाई प्रमुख प्रतिपक्ष पाटीको रुपमा स्थापित गर्न सफल हुनु भो र उहाँको सर्वत्र प्रशंसा मात्र भएन संसार भर चर्चा फैलियो।

यसरी कमरेड मदन भण्डारी द्वारा अघि सारिएको नेपाली क्रान्तिको मौलिक कार्यक्रम “जनताको बहुदली जनवाद” ले पहिलो संसदीय प्रतिस्पर्धामा नै अदभतपूर्व सफलता हासिल गर्यो। यो नेपाली समाजको लागि एक कोशेढुङ्गा थियो तर बिडम्वना कमरेड मदनकुमार भण्डारीको अनायसै यात्रामा पूणर्बिराम लाग्यो, २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा दुर्घटना भई मृत्यु भयो। यो दुर्घटना थियो या सुनियोजित हत्या थियो अहिले सम्म आम जनमानसको मन- मष्तिकमा चासो र जिज्ञासाको बिषय बनिरहेको छ।

जननेता स्वःमदन भण्डारीको जति चर्चा गरे पनि अपुरै रहन्छ। नेपाली कम्युनिस्ट आन्दोलनको आरोह- अवरोहमा उहाँको विशिष्ट योगदान र उहाँले विभिन्न कालखण्डमा निर्वाह गर्नु भएको भूमिका लाई स्मरण गर्नु पर्दछ। चाहे राष्ट्रियताको सन्दर्भमा होस् या देश र जनताका भाग्य,भविष्य एवं समृद्धिका सन्दर्भमा होस् उहाँको उत्कृष्ट मान्यतालाई आत्मसाथ गर्नै पर्दछ। आज मात्र होईन हिजो देखिको भारतीय मिचाहा प्रवृत्ति विरुद्ध उहाँले देखाएको साहशलाई उच्च सम्मान गर्नै पर्दछ। यहि सन्दर्भमा २०४९ साल चैत्र २४ गते संसदमा कमरेड मदन भण्डारीले टनकपुरका बारेमा राखेका बिचार अहिले पनि सान्दर्भिक छन्। उहाँको शाहस र बिचारलाई सबै नेता कार्यकर्ताले अनुशरण गर्नु पर्दछ।

कमरेड मदनकुमार भण्डारी द्वारा प्रतिपादन गरेको सिद्दान्त जनताको बहुदलीय जनवाद कै  कारण अहिले नेपालका कम्युनिष्ट पार्टीहरु चाहे आफुलाइ क्रान्तिकारी ठानी कुनै बेला युद्दमा होमिएका हुन् या विभिन्न समुहमा रहेका हुन् यी सबै संसदमा उपस्थित छन्। जनताका प्रिय नेता कमरेड मदन भण्डारीले निर्माण गरेको नेकपा एमाले र नवितम विचार जनताको बहुदलीय जनवादका कारण आज संसदमा नेकपा एमालेसबै भन्दा ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गरिरहेको छ। यो बेला पार्टीलाइ एकतावद्द बनाइ समाज रुपान्तरण गरि राष्ट्रलाइ समाजवादमा पुर्याउने भूमिकामा श्रीर्ष नेता र कार्यकर्ता हुनु पर्नेमा पार्टीबाटै निर्वाचित सांसदहरुले पार्टीको निर्देशन विपरित विपक्षीलाइ सहयोग पुग्ने कार्य गर्नु निर्देशनको उलड्घन गर्नु मदन भण्डारी कमरेडको विचार र सिद्दान्त प्रति अपमान गर्नु हो पार्टीलाइ धोका र जनता प्रति गद्दार गर्नु हो।

यस्ता गतिविधीले  कमरेड मदनकुमार भण्डारी प्रति  श्रद्धाञ्जली पनि हुन्न र उहाँको बिचारको सम्मान पनि हुन्न तर गद्दार र धोकेवाजहरुले बैमान गरेपनि नेकपा एमालेका सच्चा नेता कार्यकर्ताहरुले कमरेड मदन भण्डारीको विचारलाइ अनुसरण गरिरहने छन् र  सम्मान पनि गरिरहने छन्।

लेखक: बुद्धिमान परियार राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नेकपा (एमाले)