Logo

बागमती पेज

जेष्ठ ७, २०७८ शुक्रबार

भाउजू हत्या गरेर राति दाजुसँगै भाउजू खोज्न निस्किए…


काठमाडौं । मोरङको रंगेलीमा सामान्य घर झगडामा देवरले भाउजूको हत्या गरेको खुलेको छ। प्रहरीको प्रारम्भिक बयानले भनेको छ- रंगेली नगरपालिका–३ की २४ वर्षीय अनिता यादवको हत्या उनकै देवर १९ वर्षीय विनोद यादवले गरेका हुन्। ​

कसरी भयो घटना?
मङ्गलबार दिउँसो घरमा देवर भाउजूबीच सामान्य विषयलाई लिएर विवाद भएको थियो। विवादपछि बेलुका साढे सात बजे महिला श्रीमान बेचन यादवलाई खोज्न भन्दै घरदेखि उत्तरतर्फ लागेकी थिइन्। उनलाई पछ्याउँदै देवर विनोद पनि पछिपछि लागेका थिए।

‘घरदेखि उत्तर करिब डेढ किलोमिटरमा नहरको डिलमा पुगेपछि देवर विनोदले अनितालाई ढकालिदिए। मोरङका प्रमुख एसपी सन्तोष खड्काले भने, भाउजू नहरमा लडिन् र विनोदले अनिताको घाँटीमा धारिलो हतियार (दाउ) प्रयोग गरी हत्या गरे।’

मंगलबार राति करिब ८ बजे हत्या गरेपछि विनोद दाउ बोकेर घर पुगेका थिए। हत्या गरेको पत्तो पाउने भएकोले रगत लतपतिएको दाउ पानीले धोएर घरमा राखे। रातिसम्म श्रीमती घर नआएपछि उनका श्रीमान बेचन श्रीमती खोज्न हिँडे। भाउजू खोज्न विनोद पनि सँगै दाजुसँग गएका थिए। अनि दाजुसँगै विनोद घर फर्किएका थिए।

स्थानीयले देखे अनिताको लास
स्थानीयले बुधबार बिहान अनिताको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई खबर गरेपछि फरार विनोदलाई प्रहरीले रंगेली बजारमा लुकेर बसेको अवस्थामा बुधबार बिहान ८ बजे पक्राउ गरेको एसपी खड्काले जानकारी दिए।

भाउजूको हत्या गरेको १२ घण्टापछि विनोदलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो।