Logo

बागमती पेज

जेष्ठ ९, २०७८ आईतबार

गगनको जवाफ : ‘सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड !’


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘तिमी’ सम्बोधन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चित्त दुःखेपछि नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले कडा जवाफ दिएका छन् ।

सामाजिक सञ्जालमार्फत जवाफ दिँदै नेता थापाले गणतन्त्रमा सम्मान दर्जाले नभई कामले आर्जन गर्नुपर्ने बताएका छन् ।

थापाले लेखेका छन्, ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, विचरा ! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड ! ‘सम्माननीय राष्ट्रपति’बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो ।’

प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिप्रति लक्षित गर्दै राष्ट्रपतिलाई तिमी भनेकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।