Logo

मेघनाथ पहाडी

जेष्ठ २६, २०७८ बुधबार

चन्द्रागिरीको मातातीर्थ सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट उद्घाटन


काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा न. ८ स्थित रहेको नगरस्तरीय मातातीर्थको सामुदायिक भवनमा जडित अक्सिन प्लान्टको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङको् हातबाट उद्घाटन भएको छ । मन्त्री तामाङले उक्त भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन गर्नुको साथै आइसोलेसन सेन्टरको निरीक्षण गरेका हुन ।

मुनडप्स कम्पनीले जडान गरेको अक्सिजन प्लान्ट करिब ७४ लाखको लगानीमा निर्माण गरिएको हो। विना रसायन प्राकृतिक हावाबाट नै अक्सिजन उत्पादन हुने प्लान्ट नयाँ टेक्नोलोजि रहेको कम्पनीले जनाएको छ ।

अक्सिजन प्लान्टको उद्घाटन गर्दै मन्त्री तामाङले सरकारले सबै नागरिकका लागि कोरोना विरुद्धको खोपको सुनिश्चितता गर्ने गरी काम गरिरहेको बताउदै खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आव्हान गरेका थिए ।

त्यसका साथै मन्त्री तामाङले नगरपालिकाले आफ्नै लगानीमा उत्पादन गरेको अक्सिजन प्लान्टको उद्घाटन गर्न पाउँदा खुशी ब्यक्त गर्दै रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम रहेको हुँदा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउन समेत सबैलाई अपिल गरेका थिए।

कार्यक्रममा बिशेष अतिथिको रुपमा रहेकी बागमती प्रदेश सभा सदस्य रमा आले मगरले चन्द्रागिरी नगरपालिकाको नगरस्तरीय सामुदायिक अस्पतालमा दैनिक ४० देखि ४८ ठूला अक्सिजन उत्पादन गर्नसक्ने प्लान्ट जडान भएको बताउँदै आगामी दिनमा अस्पताललाई आवश्यक उपकरण र भौतिक संरचनाको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा अध्यक्षताको आसन बाट बोल्दै चन्द्रागिरी नगरपालिका वडा नं.८ का अध्यक्ष एबम आईसोलेशन सेन्टरका संयोजक सन्तोष खड्काले प्लान्ट निर्माणमा सहयोग गर्ने सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनमा चन्द्रागिरी नगरपालिकावासीले अक्सिजन अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताएका थिए ।

उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल,नगर प्रवक्ता एबम वडा नं ११ का अध्यक्ष हरि भक्त महर्जन वडा नं १ का वडा अध्यक्ष राजेन्द्र केसी, वडा नं५ का वडा अध्यक्ष कान्छा भाइ महर्जन वडा नं ६ का वडा अध्यक्ष संजय सिग्देल, वडा नं ९ का वडा अध्यक्ष देबेन्द्र महर्जन वडा नं १० का वडा अध्यक्ष गोपाल कृष्ण महर्जन, नेकपा एमाले चन्द्रागिरि नगर कमिटी अध्यक्ष राजु श्रेष्ठ लगायत जनप्रतिनिधिर स्थानीयको उपस्थिति रहेको थियो ।