Logo

बागमती पेज

जेष्ठ २६, २०७८ बुधबार

कोरोना संक्रमित पत्रकारलाई २५ हजार दिने घोषणा


काठमाडौं । नेपाल पत्रकार महासंघ ओखलढुंगाले कोरोना संक्रमित पत्रकारको उपचारका लागि २५ हजार सहयोग गर्ने भएको छ । पत्रकारका लागि कार्यालयमा ५ शैय्याको आईसोलेशन तयार पारेको महासंघ जिल्ला शाखाले थप उपचार खर्च २५ हजार र संक्रमित पत्रकारको मृत्यु भएमा परिवारलाई २५ हजार रकम सहयोग गर्ने घोषणा गरेको हो ।

महासंघका सचिव पूर्णप्रसाद न्यौपानेले बुधबार जारी गरेको विज्ञप्तिमा कोरोना जस्ता महामारी जन्य रोग लागेका पत्रकारलाई आईसियु वा भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने भएमा महासंघका तर्फबाट रु. २५ हजार र कोरोना संक्रमणका कारण वा सवारी दुर्घटना भई मृत्यु भएमा निजका परिवारलाई २५ हजार सहयोग गर्ने उल्लेख छ ।

दुर्घटना वा कुनै कारण पत्रकारहरु दीर्घरुपमा अपाङ्ग भएमा रु. १५ हजार, बाढी, पहिरो, आगलागी, जस्ता प्राकृतिक प्रकोपबाट पत्रकारको निजी घरमा क्षति पुगेमा वा परिवारका सदस्य घाइते भएमा रु. १० हजार र कुनै कारण पत्रकारको सञ्चार सामग्री क्षति भएमा वा आर्थिक अवस्थामा गम्भीर असर पुगी सञ्चार सामग्री जुटाउन नसक्ने अवस्था आएमा सञ्चार सामग्री खरिदको लागि २५ हजार रुपैंयासम्म सहयोग गरिने महासंघका सचिव न्यौपानेले बताए ।

पत्रकारको स्वास्थ्योपचार एवम् भैपरि आउने, आपतकालिन अवस्थामा सहयोग गर्न १० लाख बराबरको पत्रकार सहायता कोष स्थापना गरेर पत्रकारको हितमा विभिन्न सहायताका कार्यक्रम अघि सारिएको उनको भनाई छ । ‘हामीले पत्रकार सहायता कोष स्थापना गरेर महासंघका पदाधिकारीहरुबाटै केही रकम जम्मा गरेका छौं । अन्य दाताहरुले पनि सहयोग गर्नेक्रम जारी छ । त्यही कोषबाट पत्रकारको स्वास्थ्य उपचार एवम् पेशागत सुरक्षाका कार्यक्रमहरु ल्याएका हौं ।’ उनले भने, ‘पत्रकार महासंघ पत्रकारको हकहित र वृद्धि विकास तथा श्रमजिवी पत्रकारको पेशागत एवम् व्यक्तिगत सुरक्षामा समेत सहयोग गर्ने अभिभावक संस्था हो ।

त्यसैले जिल्लाका पत्रकारको अभिभावकत्व लिन महासंघ अग्रसर छ ।’ सहायता प्राप्त गर्न नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाको सिफारिसमा सदस्यता प्राप्त गरी हालसम्म क्रियाशील पत्रकारहरु हुनुपर्ने वा नेपाली सञ्चारमाध्यमको आधिकारिक प्रतिनिधिको हैसियतमा ओखलढुंगा जिल्लामा रहेर पत्रकारितामा क्रियाशील व्यक्ति हुनुपर्ने व्यवस्था लागु गरिएको छ ।

गम्भीर दुर्घटनामा परी उपचार गराइरहेका वा दीर्घ रोगको उपचार गराइरहेका देशका अन्य जिल्लाका पत्रकारहरुको उपचारार्थ महासंघको प्रदेश वा केन्द्रीय समितिले आव्हान गरेमा शाखाको निर्णय बमोजिम सहायता रकम उपलब्ध गराईने जनाइएको छ ।

२०७८ जेठ ७ गते स्थापना गरिएको पत्रकार सहायता कोषमा हाल सम्म ४ लाख ६ हजार ७२ रुपैंया रकम जम्मा भएको छ । कोष सञ्चालन कार्यबिधि बनाएर महासंघबाट पारित गरिएको शाखाका अध्यक्ष लाक्पा जी शेर्पाको भनाई छ । अध्यक्ष शेर्पाले पत्रकारको साझा संस्थाले थालेको विशेष अभियानमा साथ दिन सबैमा अपिल गरेका छन् ।

बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै पत्रकार महासंघ ओखलढुंगा शाखाले आफ्नै भवनमा ५ शैय्याको आईसोलेशन कक्ष तयार गरिसकेको छ । जिल्लामा क्रियाशिल पत्रकारहरु संक्रमित भए उक्त आइसोलेशनमा बस्न सक्नेछन् ।

कोरोना संक्रमणले पत्रकार तथा आमसञ्चार क्षेत्रमा गम्भिर असर पारेको अवस्थामा ओखलढुंगा शाखाले चालेको कदम महत्वपूर्ण मानिएको महासंघका केन्द्रीय सदस्य दीपेन्द्र रुम्दालीले बताए । जिल्ला स्तरमा श्रमजीवि पत्रकारका समस्या समाधानमा ओखलढुंगा शाखाले सुरु गरेको रचनात्मक अभियानले देशभरका महासंघलाई राम्रो सन्देश दिएको उनको भनाई छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले पत्रकार तथा आमसञ्चार क्षेत्रमा पारेको प्रभाव, श्रमजीवि पत्रकारका समस्या र कोभिड संक्रमणले जिल्लाका आम नागरिकमा पारेको असरका विषयमा पत्रकार महासंघ ओखलढुंगा शाखाले नागरिक समाजको अगुवा संस्थाको रुपमा काम गरिरहेको छ ।