Logo

मेघनाथ पहाडी

असार १८, २०७८ शुक्रबार

कोरोना संकट व्यवस्थापन र विपदमा केन्द्रित बजेट अहिलेको आवश्यकता हो : सांसद राजन दाहाल


काठमाडौं । बागमती प्रदेशसभा सदस्य राजन दाहालले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र विपदमा केन्द्रित बजेट अहिलेको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार बसेको प्रदेशसभाको बैठक माथि छलफलमा भाग लिँदै सांसद दाहालले तीनै तहका सरकारसँगको सहकार्यमा कोरोना विरुद्धको खोप खरिदका लागि केन्द्रीत हुँदै आवश्यक बजेट विनियोजन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

यसै क्रममा उनले विपद् व्यवस्थापनमुखी बजेटलाई विशेष जोडका साथ माग गरेका छन् । बागमती प्रदेश भित्र अविरल वर्षाका कारण भयावह बनेको सिन्धुपाल्चोक, सिन्धुली, चितवन लगायतका विभिन्न जिल्लामा पुगेको जन धनको क्षतीलाई प्रदेश सरकारले विशेष किसिमको सहयोग गर्न अनुरोध गरेका छन् ।

विपद् कोषमा प्रयाप्त बजेट नहुँदा हाल देखिएको संकटमा सरकार निरीह बनेको भन्दै उनले सरकारको बजेट विपद् व्यवस्थापनतर्फ हुनुपर्ने उनको भनाई छ । खर्च गर्न नसक्ने योजनाहरुमा बढी बजेट विनियोजन र टुक्रे योजनाहरुमा सरकार केन्द्रीत रहेकाले हरेक वर्ष बजेट खर्च निराशाजनक हुने गरेको उनको भनाई छ ।

सांसद दाहालले जनताका इच्छा आकांक्षाअनुसार बजेट नआएको भन्दै बजेटमा व्यापक संशोधन गर्न समेत माग गरे । विगतका बजेटहरुको समिक्षा गर्न छोडेर सरकार मन्त्री र सत्तापक्षका सांसदहरुको इच्छाअनुसार बजेट ल्याएका कारण जनअपेक्षा अनुसारको बजेट आउन नसकेको उनले बताए ।