Logo

बागमती पेज

असार २५, २०७८ शुक्रबार

प्रदेश १ का अर्थ समिति सभापति खड्काले अर्थ सम्बन्धि आफ्नो क्षमता कमजोर रहेको स्विकारे


विराटनगर । प्रदेश १ का अर्थ समिति सभापति मोहनकुमार खड्काले बजेट विनियोजन सम्बन्धि आफ्नो क्षमता कमजोर रहेको स्विकार गरेका छन् । प्रदेशसभामा सरकारले ल्याएको आगामी वर्षको बजेटका विषयमा धारणा राख्न रोस्टममा उभिएका खड्काले सम्बोधनको सुरुवातमै बजेट विनियोजनबारे यथेष्ट जानकारी आफुलाई नभएको स्विकार गर्दै जानेसम्म बोल्ने सभामुख समक्ष अनुमती मागेर उद्योग वन तथा वातावरण मन्त्रालयको बजेटका विषयमा धारणा राखेका हुन् ।

केही दिन अघि भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेका विषयमा धारणा राख्दा खड्काले आफुलाई अरुभन्दा जानकार सांसदका रुपमा जवरजस्त प्रस्तुत गरेका थिए । खड्काको प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङले खड्कासँग कुनै भिजन र क्षमता नभएको टिप्पणी गरेका थिए ।

मन्त्रीको उक्त टिप्पणीले आफ्नो अपमान गरेको भन्दै आपत्ति जनाएका खड्काले त्यसको केही दिनमा रोस्टममै उभिएर आफैं कमजोर रहेको अभिव्यक्ति दिएका छन् । ‘सभामुख महोदय, बजेट विनियोजनबारे त्यति जानिएन, जानिँदैन र जान्ने विद्या पनि आर्जन गरिएनछ । पेशा पनि गरिएनछ ।’ आफ्नो अध्ययन र अध्ययापन अर्थशास्त्रकै भएपनि बजेटबारे पर्याप्त ज्ञान नभएको भन्दै उनले सम्बोधनमा भनेका छन्, ‘२०४९ सालमा कलचर र इकोनमिक्समा डिब्लोमा गरेर मावि स्तर सम्म गणित, अर्थशास्त्र र लेखा पढाउँदै बसियो । त्यसैले बजेटबारे अलिक नजान्ने पात्र भित्र परिएको छ । नबुझ्ने भित्र परिएको छ । तथापि पनि म आफुले जानेसम्मका विषयवस्तुहरुमा आफ्ना धारणा राख्न चाहान्छु ।’ सुरुमा आफुलाई बजेट विनियोजनबारे कमजोर क्षमताको सांसदका रुपमा प्रस्तुत गरेका खड्काले सरकारले ल्याएको बजेटका विषयमा विरोध जनाए । बजेटको विरोध गरिरहेका खड्काले सभामुखको रुलिङ पछि सम्बोधन टुङ्ग्याए ।

खड्काले व्याङग्यात्मक रुपमा आफु जानकार रहेको दावी गरेका हुन् वा आफु कमजोर रहेको स्विकारेका हुन् त्यो उनै जानुन् । तर केही दिन अघि सदनमै उनलाई बजेटबारे जानकारी राख्ने क्षमता र विकासको भिजन नभएको नेताको रुपमा उठेको आवाजलाई भने आफैंले पुस्ट्याइँ गरिदिएको उनका समकक्षीहरु बताउँछन् ।

हेर्नुहोस् यो भिडियो :