Logo

मेघनाथ पहाडी

असार २८, २०७८ सोमबार

सिन्धुली कलाघर निर्माणका लागि प्रदेश सरकारद्धारा ४० लाख विनियोजन


सिन्धुली । सिन्धुली कलाघर निर्माणका लागि बागमती प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेको छ ।  प्रदेश सांसद विनोद खड्काको पहलमा कलाघर निर्माणका लागि प्रदेश सरकारले ४० लाख रकम छुट्याएको हो ।

कमलामाई नगरपालिका वडा नं. ३ चपौलीमा निर्माण गर्न लागिएको सिन्धुली कलाघरको भवन बनाउन आवश्यक बजेट व्यवस्था गर्ने आफुले गरेको बाचा अनुसार प्रदेश सरकारबाट बजेट व्यवस्था गरेको सांसद खड्काले बताए ।

संस्कार, संस्कृति, झाँकी सहितको जिल्लाको परिचय र पहिचानको जगेर्ना गर्दै कलाघरका कलाकारले चलाएको अभियानमा सरकारले दर्वीलो साथ दिएको उनको भनाई छ । ‘कलाघरका युवाहरुको निकै राम्रो एकता र महत्वपूर्ण अभियान छ । त्यसमा एउटा जनप्रतिनिधि हुनुको नाताले मैले पहलगर्ने र सरकारले आवश्यक सहयोग गर्ने कुरामा कमी हुँदैन भनेर बाचा गरेको थिएँ ।

४० लाख तत्कालका लागि आएको छ । फेरिपनि साथ रहन्छ ।’ उनले भने, ‘सिन्धुली कलाघरको आफ्नै भवन बनेपछि कला, साहित्यको विकास र प्रवद्र्धनमा युवाहरु थप सकृय हुनेछन् ।’

प्रदेश सरकारले कलाघरको भवन निर्माणका लागि ४० लाख रकम सहयोग गर्ने भएपछि सिन्धुलीका कलाकर्मीहरु उत्साहित भएका छन् ।