Logo

बागमती पेज

श्रावण १४, २०७८ बिहीबार

‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको पठन-पाठन शुरु गर्दै त्रिभुवन विश्वविद्यालय


काठमाडौं, १३ साउन (रासस): त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तरर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्ययन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा शैक्षिक सत्र २०७७/०७८ बाट भ्रष्टाचार निवारण अध्ययन पठन-पाठन शुरु गर्न लागेको हो ।

त्रिभुवन विश्वविद्यालयले आउँदो भदौ १६ गतेदेखि ‘सुशासन तथा भ्रष्टाचार निवारण’ प्रथम सेमेष्टारको पठन-पाठन शुरु गर्ने तयारी गरेको ‘भ्रष्टाचार निवारण’ अध्ययन त्रिविका कार्यक्रम संयोजक डा. योगेश रञ्जितले जानकारी दिनुभएको छ ।

कार्यक्रम संयोजक योगेश रञ्जितले ‘सुशासन तथा भ्रष्टाचार निवारण’ को पाठ्यक्रम भित्र भएका विषय वस्तुहरुको संक्षिप्त जानकारी दिनुभएको थियो । ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय २ वर्ष पढ्नको लागि एक लाख ७३ हजार लाग्ने समेत जानाउनु भएको थियो ।

डिन डा. कुसुम शाक्यले नेपालमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ को पढाईले समाज परिवर्तनका लगि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो । हामीले विश्वमा नभएको अन्तराष्ट्रिय स्तरको पढाईलाई ध्यान दिएर अगाडी बढ्न आवश्यक रहेको छ ।

विगत पाँच दशकदेखि भ्रष्टाचार विरुद्धको अभियानमा लाग्नुभएका सामाजिक अभियान्ता भरत जङ्गमले नेपाल सरकारका विभिन्न निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ-संस्थाहरु लगायतसँग समन्वय र सहकार्य गरेर काम गर्ने योजना रहेको बताउँनु भएको थियो । ‘२०२७ साल देखि भ्रष्टाचार विरुद्धको प्रयास गर्दै आँउनुभएका भरत जङ्गमले ५ दशक पछाडी आफ्नो सपना साकार बनाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।’ नेपालमा मात्र नभएर भ्रष्टाचार विरुद्धको पढाई हुँने विश्वमै पहिलो त्रिभुवन विश्वविद्यालय भएको समेत उहाँको दावी रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट आगामी दिनमा विश्वले ‘सुशासन तथा भ्रष्टाचार निवारण’ को बारेमा पढ्ने र पढेको ज्ञानको उपयोग गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले ‘सुशासन तथा भ्रष्टाचार निवारण’ को पढाई सकेपछी जागिरको निश्चितता गराउने समेत दावी गर्नुभएको छ ।

अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख शिवराज अधिकारीले भ्रष्टाचार धेरै पाठ्क्रममा समावेश भएको एक महत्वपूर्ण विषय भएको जानकारी गराउनुभएको थियो । उहाँले नेपाली समाजमा भ्रष्टाचार भन्ने वित्तिकै यसको गलत अर्थ लगाउँने खालको धारणा रहेको जानकारी गराउँदै ‘सुशासन तथा भ्रष्टाचार निवारण’ आफैमा एउटा महत्वपुर्ण विषय भएको बताउँनु भएको थियो । यस विषय अध्ययन गर्ने विद्यार्थीहरुले राम्रोसँग बुझेर भ्रष्टाचार गर्नेलाई कारवाही गर्ने मात्र नभई भ्रष्टाचार हुन नदिनका लागि महत्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । भ्रष्टाचार सबै क्षेत्रमा हुँने हुनाले भ्रष्टाचार नियन्त्रणका लागि सरकारी तथा प्राईभेट सबै क्षेत्रमा विज्ञहरुको आवश्यक्ता पर्ने हुन्छ, त्यसकारण यहाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा जागिरको अवसर पाईने विश्वास व्यक्त गर्नुभएको थियो ।

भ्रष्टाचार गर्नु हुँदैन भन्ने जानकारी सबैमा छ । तरपनि साना देखी ठूला सबैले भ्रष्टाचार गर्ने गरेको अध्ययनले देखाउँछ । त्यसलाई निर्मूल पार्न नै ‘सुशासन तथा भ्रष्टाचार निवारण’ को अध्ययन विश्वमा पहिलो पटक त्रिभुवन विश्वविद्यालयले शुरुवात गर्न लागेको हो । यस अध्ययनले सरकारलाई भ्रष्टाचार न्यनिकरण गर्न र असल शासन संचालन गर्न पूर्ण रुपमा सहयोग पुग्ने विश्वास गरिएको छ ।