Logo

बागमती पेज

श्रावण २२, २०७८ शुक्रबार

रामचन्द्र पौडेलले बोलाए देशभरबाट जिल्ला सभापतिको भेला, देउवालाई दबाब दिइँदै


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरू काठमाडौंमा भेला हुने भएका छन् ।

साउन २५ गते देशभरका जिल्ला सभापतिहरु भेला हुने तयारी छ । महाधिवेशन अन्योलमा परेको अवस्था रहेकाले भेला गर्न लागिएको एक नेताले जनाएका छन् ।

ती नेताले नाम नखुलाउने शर्तमा भने, ‘महाधिवेशन अन्योलमा परेको छ । पार्टीलाई संकटबाट टार्न सुझाव दिन बैठक गर्दैछौं ।’ पौडेलसहित नेताहरु बिहीवार बेग्लै भेला गरिसकेका छन् ।

वरिष्ठ नेता पौडेल पक्षले भदौ २३ गतेपछि सभापति शेरबहादुर देउवा नेतृत्वको अहिलेको कार्यसमितिलाई मान्न नसकिने चेतावनी दिएर भदौ १६–१९ गतेमै महाधिवेशन गर्न दबाब दिँदै आएको छ ।

तत्काल महाधिवेशन सम्भव नदेखिए विशेष महाधिवेशन गर्न समेत पौडेल पक्षले माग गरेको छ । सभापति देउवाले भदौमै महाधिवेशन गर्न आफू तयार रहेको बताउँदै आएका छन् । क्रियाशील सदस्यता विवादका कारण कांग्रेस महाधिवेशन कार्यतालिका प्रभावित हुँदै आएको छ ।