Logo

मेघनाथ पहाडी

श्रावण २५, २०७८ सोमबार

महानगरको एक वडा एक पार्क : हाँडीगाउँमा ‘नरबुद्ध पार्क’ शिलान्यास


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘एक वडा, एक पार्क’को नीति अनुसार काठमाडौं महानगरपालिका अघि बढेको बताएका छन्।

आज वडा नम्बर-५ को हाँडीगाउँमा नरबुद्ध पार्कको शिलान्यास कार्यक्रममा सम्बोधन गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताएका हुन्।

‘कठमाडौं महानगरपालिकाले एक वडा, एक पार्कको नीति लिएको छ,’ शाक्यले भने, ‘नरबुद्ध पार्कको शिलान्यास त्यही नीति अनुरूप नै हो।’

प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले अहिलेसम्म साना-ठूला गरी करिब ७० वटा पार्क निर्माणको काम अघि बढाएको बताए।

‘काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्दै पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको छ,’ शाक्यले भने, ‘अहिलेसम्म करिब ७० वटा पार्क निर्माणको काम अघि बढेको छ। कुनै ठूला वडा छन्, कुनै साना वडा छन् कुनै सार्वजनिक जग्गा नभएका वडा पनि छन्। सार्वजनिक जग्गा धेरै भएका वडा पनि छन्। कुनै वडामा १०–१२ वटा पार्क पनि बनेका छन्। कुनै वडामा एउटा मात्रै भए पनि बनेको छ।’

उनले पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको स्मरण गराए।

‘पार्क निर्माणसँगै हामीले सम्पदा निर्माण, पुनर्निर्माणको अभियानलाई पनि प्राथमिकतामा राखेको छौं,’ उनले भने, ‘बनाउने जिम्मा हामी लिन्छौं, त्यसको व्यवस्थापन स्थानीयले गर्ने हो। हामी काठमाडौं महानगरलाई सुन्दर बनाउने अभियानमा छौं।’

करिब सात रोपनी क्षेत्रफलमा निर्माण हुन सो पार्कको लागत १ करोड ४८ लाख रहेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।

पार्कमा कलात्मक डिजाइनका साना-ठूला गरी चार वटा ढोका रहने छन् भने आराम गर्नका लागि चौतारीसहितको छहारी रहने छ। त्यसैगरी विश्रामका लागि झिँगटीका छाना भएका चौतारहरू पनि रहने छन्।

पार्कमा हरियालीका लागि दुबोसहितका मैदान रहने भने १५ फिट गोलाइको फाउण्टेनसहितको पोखरी रहने छ।

व्यायम र हिँड्डुलका लागि बाटो र खुला ठाउँको समेत पार्क डिजाइनमा व्यवस्था गरिएको छ। वृद्धवृद्धा र अपाङ्गमैत्री पार्कमा अभय मुद्राको बुद्धको मूर्तिसमेत राख्ने योजना रहेको छ।