Logo

बागमती पेज

श्रावण २७, २०७८ बुधबार

प्रहरीको प्रश्नपत्र प्रकरण : तीन जनालाई बर्खास्त, ११ जनालाई कारबाहीको सिफारिस


काठमाडौं । राष्ट्रसंघीय शान्ति मिसनका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएपछि छानबिन गर्न गठित समितिले प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षेत्रीलाई आज बिहान प्रतिबेदन बुझाएको छ ।

डिआईजी वसन्त लामाको संयोजकत्वमा गठित समितिले तीन जनालाई बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन बुझाएको प्रहरी प्रवक्ता बसन्त कुँवरले जानकारी दिए ।

यस्तै, समितिले अन्य ११ जनालाई बिभागीय कारबाही गर्न पनि सिफारिस गरेको छ । बर्खास्तीमा पर्नेहरुमा प्रश्नपत्र चोरी गर्ने युएन शाखाका परिचर सुरेश बम, साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाह र सई जनक थापा रहेका छन् ।

प्रश्नपत्र लिने डिएसपीलाई भने विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । साथै शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षा रद्द गरी नयाँ प्रश्नपत्र तयार गरी परीक्षा लिन पनि भनिएको छ ।

यस प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेकोमा डीएसपी रूपेश खड्कासहित ११ जना प्रहरी कर्मचारी दोषी देखिएका हुन् ।

दोषीलाई प्रहरी ऐनबमोजिम बर्खास्तीदेखि नसिहत र बढुवा रोक्कासम्मको कारबाहीका लागि सिफारिस गर्न प्रतिवेदनमा उल्लेख गरिएको छ ।