Logo

बागमती पेज

भाद्र २, २०७८ बुधबार

कविता : ‘फूलको यात्रा’


जारी छ फूलको यात्रा
अझै जारी छ
ऊ त्यो फूल मन्दिरको लागि
टिपिएको हो
ऊ त्यो अर्को फूल चाहिँ
आर्यघाटका निम्ति चुडिँएको हो
बगैँचा रित्तिए पनि
फूलको यात्रा सिद्धिएको छैन
जारी छ फूलको यात्रा
अझै जारी छ ।

निकै हत्तारमा देखिन्छन् फूलहरु
किनकि आज त झन् धेरै
लासमाथि चड्नु छ
योद्धाको काँधमाथि चढ्नु छ
रारामा फुलेको गुराँसले
राजधानी झर्नु छ
मुग्लानको जहाजमा मदन चढ्नु अघि
अञ्जुलीमा चढेर बिदाई गर्नु छ
जारी छ फूलको यात्रा
अझै जारी छ ।

गोधूलिमा चुडिँएर – डालीबाट
मिर्मिरेमा झर्नु छ – चोक बजार
बन्दै बधाईमा हाँसो
झार्दै बिदाईमा आँसु
हत्तारमा देखिन्छन् फूलहरु
किनकि
आज छ मन्त्रीको भव्य स्वागत
सजाउनु छ मञ्चको शोभा
भोलि छ मन्दिरमा मेला
पर्सि छ विद्वानहरुको भेला

नजिक आउदै छ प्रेमदिवस
चखेवा जोडीको मिलनको पर्व
जानु छ फेरि कतै
प्रेमको प्रस्ताब बोकेर
तिमी दौडिरहेका फूललाई हेर
जारी छ फूलको यात्रा
अझै जारी छ ।